सुजन काफ्ले । दोलखा । गाउँगाउँमा सिंहदरबार भने पनि कतिपय स्थानीय सरकारहरूले अहिलेसम्म आफ्नो कार्यालय निर्माण गर्न सकेका छैनन् । तर, दोलखाको तामाकोसी गाउँपालिकाले भने गत आवमा दुई वटा वडामा सुविधासम्मपन वडा कार्यालय निर्माण गरेको छ ।
गाउँपालिकाले वडा–१ भिरकोटमा र वडा–४ मालुमा वडा कार्यालय निर्माण गरेको हो । कार्यालय नहुँदा जनताले पनि भूकम्पले चर्किएको वा भाडाको भवनबाट सेवा लिइरहेका थिए । कर्मचारी र जनप्रतिनिधिलाई पनि जताततै चर्किएको पुरानो भवनभित्र बसेर सेवा दिन पनि डराउनुपर्ने अवस्था थियो । वडामा सुविधा सम्पन्न कार्यालय निर्माण हुँदा स्थानीयहरू पनि खुसी भएका छन् ।
‘अब कार्यालयको निर्माण भयो सेवा सजिलै पाइन्छ । आफ्नो गाउँमा पनि सुविधासम्पन्न कार्यालय निर्माण हुँदा बल्ल सिंहदरबार आएको महसुस भएको छ,’ स्थानीय राजकुमार खड्काले बताए । पहिले भूकम्पले चर्किएको भवनबाट सेवा दिँदा हामी पनि डराउनुपर्ने अवस्था कार्यालयको निर्माणपछि सो अवस्थाको अन्त्य भएको र जनतालाई सेवा लिनमा सहजता भएको वडा–१ का वडाध्यक्ष महेश्वर काफ्लेले बताए । अहिले मिटिङ हल, ट्वाइलेट र धारा सहितको सुविधासम्पन्न कार्यालय हुँदा सेवाग्राहीलाई झन् सजिलो भएको वडाध्यक्ष काफ्लेले बताए ।
गत आवमा गाउँपालिकाले वडा–१ भिरकोटमा ६३ लाख ८ हजार र वडा–४ मालुमा ५९ लाख ९४ हजार ९ सय बजेट विनियोजन गरेर वडा कार्यालय निर्माण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत विज्ञान कोइरालाले बताए । यो वर्ष पनि गाउँपालिकाको वडा–७ हाँबा र वडा–५ सहरेमा वडा कार्यालय निर्माणका लागि टेन्डर आह्वान गरिसकेको अधिकृत कोइरालाले बताए ।