‘श्री ५ को सरकार’ भन्दै सार्वजनिक कार्यक्रममा सम्बौधन गरेका मन्त्री मणि थापाले मागे माफी

काठमाडौं, १८ माघ । नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी माग्नुभएको छ । आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले क्षमा याचना गरेका हुन् ।
‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ उहाँले लेख्नुभएको छ, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उहाँले आफ्नो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको भन्दै पश्चगमनका पक्षमा आफ्नो साथ नहुने समेत बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुग्नुभएको थापाले सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भन्नुभएको थियो । मन्त्री थापाको उक्त सम्बोधनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उहाँको तिव्र आलोचना भएको छ ।

Back to top button