ज्यान मार्ने उद्योगमा हिरासतमा रहेका खुङ्गाका वडाध्यक्ष पुन रिहा

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिनुभएको थियो । जाहेरीमा उहाँहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिनुभएको थियो ।

उहाँहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहनुभएका वडाध्यक्ष पुन सहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा बुधबार रिहा हो ।

बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उहाँले टिप्पणी गर्नुभयो । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताउनुभयो ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गर्नुभएको थियो । पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गर्नुभएको थियो ।

Back to top button