मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती

समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा बिहीबार विवेकानन्दका गुरु रामकृष्णको स्मरणमा स्थापना भएको संस्था रामकृष्ण आश्रम नेपालले प्रवचन, पूजा आराधना, हवन, विशेष भोग, आरती, भजनकीर्तन एवं प्रसाद वितरण गरी स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती मनाएको छ ।

‘आत्मनो मोक्षार्थं जगद्घिताय च’ अर्थात् आत्ममुक्ति र जगत्को हितका लागि भन्ने मूल नाराका साथ विसं २०६८ असोज १२ गते रामकृष्ण आश्रम नेपाल स्थापना भएको हो । भारतमा रामकृष्णका प्रमुख शिष्य विवेकानन्दको सक्रियतामा सन् १८९७ मा रामकृष्ण मिसनको स्थापना भएको थियो । आश्रम रामकृष्ण मिसनको पश्चिम बङ्गालस्थित बेलुर मठसितसमेत आबद्ध रहेको जनाइएको छ ।

सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन विवेकानन्दको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापीरूपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बन्नुभएको रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउनुहुन्छ ।

धार्मिक सद्भाव, पूर्व र पश्चिमको सामञ्जस्य, आध्यात्मिक परिपूर्णता र कसैमाथि पनि धर्म, सम्प्रदाय, जातजाति वा राष्ट्रियताको कुनै भेदभाव नगरी मानवीय क्षमताको विकास, सामाजिक समानता एवं सबै मानवताका लागि शान्ति तथा समृद्धि आश्रमको मुख्य लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । लक्ष्य प्राप्तिका लागि आश्रममा सन्यासीबाट नै प्रशासन चल्ने व्यवस्था गरिएको छ ।

सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधिबिना अमेरिका पुग्नुभएका विवेकानन्दले विश्वकोषको उपनामले परिचित हावर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेट्नुभयो । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित हुनुभयो ।

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गर्नुभयो । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वानलाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उहाँले भाग लिन पाउनुभएको थियो ।

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गर्नुभयो । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्नेबित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।

उहाँले “हामी सहिष्णुताका कुरा मात्र गर्दैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गर्छौैँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारत वर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो”, भन्नुभयो । यसै प्रवचनबाट उहाँको ख्याति विश्वव्यापीरूपमा फैलिएको थियो । उहाँले वैदिक सनातन धर्मलाई विश्वव्यापीरूपमा फैलाउन पु¥याउनुभएको योगदानको स्मरण गर्दै भारत वर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उहाँको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Back to top button