“ओली र हामीलाई उस्तै भन्दा हामी माथि अन्याय हुन्छ”

काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। दाहालले प्रधानमन्त्री ओली लोकतन्त्रलाई कुल्चेर प्रतिगमन र सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरू लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा लागेको बताए।

उनले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तुलना गरिए अन्याय हुन्छ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका कदमलाई ‘जंगली राज’ को सुरुवात भन्दै दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग प्रतिनिनिधसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए।

फागुन पहिलो साताभित्र संयुक्त आन्दोलनमा जाने विषयमा टुंगो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दोषी रहेको बताए। उनले यस्तो अवस्था आउनुमा आफूहरूको पनि कमजोरी भए आत्मसमीक्षा गर्ने बताए। मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितिबारे चाँडै नै श्वेतपत्र जारी गर्ने जानकारी पनि उनले दिए। दाहालले जनयुद्धदेखि गणतन्त्रसम्मको यात्रामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको औंल्याए। सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै दाहालले भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए।

अन्तर्कियामा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने बताए। ओलीको प्रशंसा मात्र सुन्ने बानी रहेको आरोप लगाउँदै नेपालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गरे। प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको प्रस्ट पार्दै अध्यक्ष नेपालले संकटमा परेको मिडिया उद्योगलाई विकल्प दिन सक्नुपर्ने पनि बताए। अन्तर्कियामा मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णीकारले सञ्चार उद्योगको संरक्षणमा सरकारले काम गर्न नसकेको बताए। प्रजातन्त्र तथा लोकतन्त्रमा मात्र सञ्चारमाध्यम बाँच्न र फस्टाउन सक्ने भन्दै उनले संविधानको रक्षामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

Back to top button