शौच गर्न गएकी बालिकालाई अपहरण गरी दुई युवकद्वारा बलात्कार

मोरङ, २९ माघ । राति शौच गर्न निस्केकी जहदा गाउँपालिका– १ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् ।

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

Back to top button