ललितानिवास जग्गा हिनामिनाका योजनाकार ढकाल जेल चलान

काठमाडौं । ललितानिवास जग्गा हिनामिनाका योजनाकारमध्ये एक शोभाकान्त ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । विशेष अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको हो ।

मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सो मुद्दामा विशेषले तीनजनालाई थुनामा पठाउने आदेश दिएको छ ।

अदालतमा उपस्थित भएका पहिलो प्रतिवादी मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाउने आदेश भएको थियो । पछि उनी सर्वोच्च अदालतबाट छुटे । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि थुनामा पठाउने आदेश भएकोमा उनी डिल्लीबजार कारागारमा छन् ।

उनीविरुद्ध ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनकी श्रीमती उमाकुमारी ढकाल्नीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको थियो । उनलाई अदालतले दुई लाख धरौटीमा छाडेको थियो ।नयाँ पत्रिका

ढकाललाई थुना पठाउन उनकी श्रीमती उमाकुमार ढकाल्नीको बयानलाई समेत आधार बनाइएको छ ।

छानबिन प्रतिवेदन, मालपोतका कर्मचारी, परिस्थितिजन्य अवस्था, राणा परिवारको बयानका आधारमा विशेषले उनलाई थुनामा राख्नुपर्ने आदेश दिएको हो ।

Back to top button