चलचित्रमा पक्षपात छ : प्रियंका

अभिनेत्री प्रियंका चोपडाले चलचित्रमा क्षेत्रमा हुने पक्षपातका विषयमा आफ्ना भनाइ सार्वजनिक गरेकी छन् । पारिवारिक सहयोग र पक्षपातविना बलिउडसँगै हलिउडमा समेत सफलता हात पारेकी प्रियंकाले टक सो ‘अ लिटल लेट विथ लिली सिंह’ आफ्नो मत राखेकी हुन् । उनले यस क्षेत्रमा रहेको पक्षपातवादका बारेमा चर्चा गर्दै नयाँका लागि चलचित्र क्षेत्र प्रवेश निकै चुनौतीपूर्ण रहेको जिकिर गरिन् । यसबारेमा उनको हालै सार्वजनिक भएको पहिलो आत्मसंस्मरण पुस्तक ‘अनफिनिस्ड’ मा समेत चर्चा गरिएको छ । सो टिभी कार्यक्रमका प्रस्तोता लिली सिंहले अभिनेत्री प्रियंकालाई पक्षपातका कारण आफ्नो करिअरमा संघर्ष गर्नुपरेको छ कि भन्दै प्रश्न गरेका थिए । त्यसको उत्तरमा उनले भनिन्, ‘छ, यसबारे त मैले किताबमा पनि उल्लेख गरेकी छु । पक्षपातबारे सबैभन्दा नराम्रो कुरा के हो भने यसले साधारण मान्छेहरू अवसर पाउनबाट वञ्चित बनाउँछ ।’

उनले आफ्नो परिवार र साथीभाइका बारेमा हरेकले सोच्नु मान्छेको प्राकृतिक स्वभाव जनाउँदै भनिन्, ‘हरेकले आफ्नो परिवारबारे सोच्छन् नि १ उनीहरूका लागि अवसर बनाउन खोज्नु स्वाभाविक हो । मलाई पनि यस्तै गर्न मन लाग्छ ।’ अभिनेत्री प्रियंकाले यसो भन्दैमा अरूलाई असर पुग्ने गरी चलचित्र क्षेत्र नै आफ्नो बनाउन नहुने जिकिर गरिन् । यस क्षेत्रलाई व्यवस्थित बनाउन सक्नेमा आफू विश्वस्त भएको बताउँदै उनी भन्छिन्, ‘बरू हामीले ठूलो मात्रामा अवसर सिर्जना गर्नुपर्छ । यसो गरे सबैलाई अवसर मिल्छ ।’ अभिनेत्री प्रियंका सन् २००० नोभेम्बर ३० मा १८ वर्ष कै उमेरमा ‘मिस वल्र्ड’ बनेकी थिइन् । उनको जीवनशैली र कार्यक्षेत्र मिस वल्र्ड भएसँगै फेरियो । त्यसपछि उनी चलचित्र क्षेत्रमा प्रवेश गरिन् । सन् २००२ मा तमिल चलचित्र ‘थमिजा’ बाट पर्दामा पाइला टेकिन् । उनले २००३ मा निर्देशक अनिल शर्माको चलचित्र ‘द हिरोः लभ स्टोरी अफ अ स्पाइ’ बाट बलिउड प्रवेश गरेकी थिइन् ।सौर्य दैनिकमा खबर छ ।

त्यसपश्चात् केही चलचित्रमा उनले काम गरिन् र सफलताको स्वाद पनि चाखिन् । उनका लागि मधुर भन्डारकर निर्देशित ‘फेसन’ टर्निङ प्वाइन्ट बन्यो । ‘अन्दाज’, ‘अग्निपथ’, ‘क्रिस’, ‘सात खुन माफ’, ‘बर्फी’, ‘बाजिराव मस्तानी’, डन १ र २ लगायतका उनी अभिनीत चलचित्र बलिउडमा निकै सफल रहे । सन् २०१५ मा अभिनेत्री प्रियंकाले हलिउड प्रवेश गरेर अर्को सफलता हात पारिन् । सोही वर्ष सेप्टेम्बरदेखि उनी एबिसी ९अमेरिकन ब्रोडकास्टिङ कम्पनी० स्टुडियोबाट प्रसारण हुने ‘क्वान्टिको’ मा काम गर्न थालिन् । ‘क्वान्टिको’ अमेरिकी थ्रिलर नाटक हो । यो २०१५, सेप्टेम्बर २७ देखि प्रसारण भएको थियो । अहिले उनी बलिउड र हलिउड दुवैतिर सन्तुलन मिलाएर काम गरिरहेकी छन् । उनले केही दिनअघि आफूलाई लेखकको रुपमा समेत चिनाएकी छन् । गत मंगलबार उनको पहिलो आत्मसंस्मरण ‘अनफिनिस्ड’ सार्वजनिक भएको थियो ।

Back to top button