तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको काममा  अस्वभाविक ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गरेका छन्। नापी विभागले राजधानीमा आयोजना गरेको नेलिस तथा ‘मेरो कित्ता’ शुभारम्भ गर्दै  प्रधानमन्त्री ओलीले तामाकोशी परियोजनाको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले यस्तो ढिलासुस्ती नसहने चेतावनीसमेत ओलीले दिएका छन्। मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु। एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ। १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि पनि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेँ। केही दिन अगाडि पनि त्यही सुनेँ, अघिल्लो दिन पनि त्यही सुनेँ’, ओलीले तामाकोशी आयोजनाको कामप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘यो ढिलाइले दैनिक प्रत्यक्ष पाँच करोड र परोक्ष १३ करोडको नोक्सानी भइरहेको छ। यो ढिलासुस्ती अस्वभाविक र असाधारण हो ।’

परियोजनाको कामलाई सरकारले चासोका साथ हेरिरहेको बताउँदै ओलीले यो बिलम्ब र ढिलासुस्ती मान्य नहुने चेतावनीसमेत दिए। उनले मेलम्चीमा यस्तै ढिलाइ गर्न खोजेको तर ताकेता गरेर काम सम्पन्न भएको भन्दै अब तामाकोशीको कामप्रति सरकारले विशेष चासो दिएको बताए।

‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आउने थिएन। हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं’, ओलीले भने, ‘माथिल्लो तामाकोशीको काममा पनि यसरी नै ढिलासुस्ती भइराखेको छ। ढिलासुस्ती र बिलम्बप्रति अनदेखी गरेर बस्न सकिँदैन। बिलम्ब स्वीकार्य हुनैसक्दैन ।’

Back to top button