अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

काठमाडौँ — बिहीबार राति देशैभर ठूलो हावाहुरी चलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले मुलुकका अधिकांश भागमा हावाहुरी चलेको बताइन । मौसमविद् मानन्धरका अनुसार प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको हो ।उनका अनुसार अझै एक/दुई घण्टासम्म हावाहुरी चल्ने छ । ‘यो हावाहुरी प्रि-मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको हो । अझै एक/दुई घण्टा हावाहुरी चल्नेछ, वर्षा भएपछि यो विस्तारै घट्दै जान्छ,’ मौसमविद् मानन्धरले भनिन् ।

उनले शुक्रबार अपरान्ह पनि देशका केही भागमा हावाहुरी चल्ने बताइन् । ‘भोलि पनि अपरान्हपछि यस्तै हावाहुरी चल्नेछ । तर ठूलो चल्दैन,’ उनले भनिन् । अहिले प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा पनि हावाहुरी चलेको पनि उनले बताइन् ।

स्थानीयस्तरमै निर्माण वायु दक्षिणबाट विस्तारै उत्तरपूर्वतिर जाने पनि उनको भनाइ छ । त्यस्तै विभागले हावाहुरीका कारण घरका छाना उडाउने, रुख भाँचिनेलगायतका दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।हावाहुरीका कारण अहिलेसम्म कुनै क्षतिको विवरण नआएको नेपाल प्रहरीले जनाएको छ ।

Back to top button