दुई साता कर्फ्यू लगाउन चिकित्सक संघको माग

विराटनगर । नेपाल चिकित्सक संघले कोरोना भाइरस सङ्क्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साता कर्फ्यू गर्न माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै संघले सङ्क्रमणको दर अत्यन्तै बढेको र सङ्क्रमितमा गम्भीर प्रकृतिका लक्षण देखिरहेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

यस्तै संघले निषेधाज्ञा जारी हुँदा पनि कतिपय क्षेत्रमा भिडभाड भइरहेको भन्दै संक्रमणको जालो तोड्न कम्तिमा दुई साता कर्फ्यू गर्न सरकारसँग माग गरेको हो ।

चिकित्सक संघका अध्यक्ष डाक्टर फरवार्ड सिलवाल र महासचिव डाक्टर राजेन्द्र चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको स्वास्थ्य अवस्था र सङ्क्रमण गतिलाई गम्भीर रूपमा मनन गर्दै नेपाल चिकित्सक संघले २९ वैशाखमा देशभर ‘रेड अलर्ट’ घोषणा गरेको स्मरण गराइएको छ ।

यस्तै संक्रमितको उपचारका लागि मुलुकभरका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु नागरिकको जीवन रक्षाका लागि खटिरहेको भन्दै सरकार र सम्बन्धित निकायहरू भने अपेक्षाकृत संवेदनशिल बन्न नसकेको संघले जनाएको छ । ‘सरकार र सम्वन्धित निकायहरु नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध छन् भन्ने प्रश्न हाम्रोमाझ खडा भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

 

Back to top button