इंग्लिस प्रिमियर लिगमा गोलरक्षकको गोल

 

विराटनगर । गोलरक्षक एलिसन बेकरले गोल गरेपछि लिभरपुलले वेष्ट ब्रुमलाई आइतबार २–१ गोलअन्तरले विजयी भएको छ । यसले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा छनौट हुने संभावना लिभरपुलको कायमै रहेको छ ।

खेलको अन्तिम मिनेटमा लिभरपुलले पाएको कर्नरको बेला गोलरक्षक एलिसन आफ्नो पोष्ट छाडेर विपक्षीको पोष्टमा गई गोल गर्न सफल भएको हो ।

ट्रेन्ट अलेक्जान्दर आर्नोल्डको कर्नरमा पेनाल्टी एरियामा अनमार्क रहेका एलिसनले सानदार हेडिङमार्फत ऐतिहासिक गोल गर्न सफल भए । सन् १८९२ यता लिभरपुलको इतिहासमा प्रतिस्पर्धात्मक खेलमा गोलरक्षकले गोल गरेको यो पहिलोपल्ट हो ।

खेलको १५ औं मिनेटमै हल रब्सन कानुको गोलमार्फत घरेलु टोली वेष्ट ब्रुमले अग्रता बनाएको थियो । तर, मोहम्मद सलाहले ३३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बराबरी भयो । अंक बाँड्नुपर्ने स्थिमिा गोलरक्षको गोल खेलको निर्णायक बन्यो ।

यो जितले लिभरपुललाई चौथो स्थानको चेल्सीसँग १ अंकको अन्तरमा ल्याइदिएको छ । लिगमा सबैको दुई खेल बाँकी रहँदा तेस्रो स्थानको लेस्टर सिटीसँग ३ अंकको दूरीमा छ ।

अर्को चरणमा चेल्सी र लेस्टर आमने सामने हुँदैछन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप त्यही खेल आफ्नो च्याम्पियन्स लिग आशामा निर्णायक होस भन्ने चाहनुहुन्छ । लिभरपुलले अर्को खेल बर्निलसँग बुधबार खेल्दैछ ।

Back to top button