राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ३८ मत खस्यो, मतपरिणाम आजै आउने

हेटौँडा । बागमती प्रदेश राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि आज भएको उपनिर्वाचनको मतदान प्रकृया सम्पन्न भएको छ । मतदानमा ३ सय ३८ मत खसेको छ । प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ जनाले मत दिनुभएको छ ।

यस्तै स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय ३८ जनामध्ये २ सय ३३ मत खसेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका केहिबेरपछि नै आवश्यक प्रक्रिया पूरा गरी मतगणना शुरु हुने छ भने मत परिणाम आज नै सार्वजनिक हुने छ ।

उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट माधव नेपालनिकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

Back to top button