विपक्षी गठबन्धनको सिंहदरबारमा छलफल, बहुमत हस्ताक्षर लिएर शितल निवास जाने तयारी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुको सिंहदरबारमा छलफल भएको छ । छलफलमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका परिष्ठ नेता माधवकुमार नेपाल समेतको सहभागिता रहेको थियो ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि विपक्षी दलहरु छलफलमा जुटेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरुबीच राष्ट्रपतिले तोकेको समयभित्र वैकल्पिक सरकार गठन गर्ने र त्यसका लागि आवश्यक मत पुर्‍याउने निष्कर्षमा पुगेको स्रोतको भनाई छ । यसका लागि हस्ताक्षर संकलन समेत भइरहेको बताइएको छ ।

दलहरुबिचको सहमति भएसँगै संविधानको धारा ७६ को ५ अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास जाने कार्यक्रम रहेको छ । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेको छ ।

Back to top button