निषेधाज्ञामा प्रहरीलाई डियुटीको बोझ, कहाँ बस्ने सौच ?

सुदिप कोइराला,

विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टको लहर फैलिएसँगै देशका अधिकधांश जिल्लासँगै मोरङमा पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञालाई पूर्ण पालना गराउन सुरक्षाकर्मी फ्रन्टलाईनमा खटिएका छन् । मोरङमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली निषेधाज्ञा पालना गराउन सडकमा खटिएका हुन् ।

यही निषेधाज्ञा पालना गराउने क्रममा नै सुरक्षाकर्मीहरु संक्रमित भइरहेका छन् । संक्रमित भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सुरक्षाकर्मीलाई आइसोलेसनमा राखेपछि बाँकी भएकालाई उनीहरुको समेत डियुटीको बोझ थोपरिएको छ ।

पछिल्लो समय एउटा सुरक्षाकर्मीले १६ घण्टासम्म डियुटीमा खटिनुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक सन्तोष खड्का बताउनुहुन्छ । ८ घण्टाको आराम पछि लगत्तै तिनै सुरक्षाकर्मी परिचालन हुनुपर्ने अवस्था छ । नियमित डियुटी त छदैछ । अतिरिक्त थपिएको निषेधाज्ञा पालना गराउने जिम्मेवारी एकातिर छ, अर्कातिर सुरक्षाकर्मी पनि संक्रमित हुन थालेपछि बाँकी रहेकालाई डियुटी थपिनु स्वभाविक नै हो ।

यसरी डियुटी खटिँदा सुरक्षाकर्मीले अनेकन समस्याहरु झेल्नु परिरहेको छ । तर सवैभन्दा ठूलो समस्या उनीहरुलाई सौच बस्नु नै हो । विराटनगर बजारक्षेत्रमा सार्वजनिक सौचालयको अभाव छ । बजार क्षेत्रमा रहेका मानिसलाई अनावश्यक बाहिर ननिस्कन तिनै सुरक्षाकर्मीले रोकिरहेका छन् । अटेर गर्नेलाई हप्किदप्कि गर्नुपर्ने बाध्यता उनीहरुकै छ ।

यसरी खटिएका सुरक्षाकर्मीलाई तिनै घरका शौचालयमा प्रवेश गर्न कस्ले अनुमति दिने ? डियुटी छाडेर अन्यत्र जान पनि नपाउने हुँदा घण्टौंसम्म पीसाब रोकेर बस्नुपर्ने बाध्यता सुरक्षाकर्मीहरुको छ । नाम उल्लेख नगर्ने शर्तमा एक महिला सुरक्षाकर्मीले भन्नुभयो, बैंक तथा वित्तियसंस्था सञ्चालन हुँदा केही हदसम्म सजिलो थियो, ती पनि बन्द भएपछि साच्चै गाह्रो हुने गरेको छ ।

अझ तातो घाममा खटिँदा सुरक्षाकर्मीले कहिलेकाँही पानी समेत पिउन पाउदैनन् । घाम पानीको प्रवाह गर्न नपाई डियुटीमा खटिएका सुरक्षाकर्मीका यस्ता समस्याप्रति अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । जिल्ला प्रहरी प्रमुख खड्काले भन्नुभयो, सकेसम्म पिउने पानीको व्यवस्था चाँही मिलाएका छौं, तर सौच बस्ने समस्या छ ।

डियुटीमा खटिएका सुरक्षाकर्मीको समस्या अनेक छन् । त्यसमा सवैभन्दा बढी मानिसहरुको हेलचेक्र्याई र हेपाहा प्रवृत्तिले झन् समस्या थपिएको उहाँको भनाई छ । अनेक बहानामा घरबाहिर निस्कने मात्र नभई संक्रमितहरु समेत हिँडडुल गरेको पाइएको छ । पहिचान भएका संक्रमितलाई स्थानीय तहको समन्वयमा आइसोलेसन सेन्टर पठाए पनि पहिचान नगराउने धेरै हुनसक्ने प्रहरीको बुझाई छ ।

उनीहरुकै कारण सुरक्षाकर्मीलाई चुनौती थपिएको छ । कतिपयलाई प्रहरीले कारवाहि समेत गर्नुपर्ने अवस्था आएको उपरीक्षक खड्काले बताउनुभयो । अझ पछिल्लो समय सुरक्षाकर्मीमा पनि संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रहरीमा सजगता अपनाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले २०/२० जनाको समूहलाई छुट्टाछुट्टै ब्लकमा राख्ने गरिएको छ । एकजनालाई देखिए एउटा समूहलाई नै आइसोलेसनमा राख्ने र अरुलाई परिचालन गर्न सकियोस भनेर यस्तो व्यवस्था मिलाइएको हो, उपरीक्षक खड्काले भन्नुभयो ।

शसस्त्र प्रहरी बलका उपरीक्षक तिर्थराज पौडेलले स्वास्थ्य सावधानी अपनाउँदै गर्दा पनि डियुटीमा खटिएकाहरु संक्रमित हुने गरेको बताउनुभयो । उहाँका अनुशार अहिलेसम्म १५ जना भन्दा बढी शसस्त्र प्रहरी संक्रमित भइसकेका छन् ।

अझ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा छन् । भारतबाट हुने लुकिछिपी आवागमनमा कडाई र स्वास्थ्य मापदण्ड पालना गराउने सुरक्षाकर्मीको व्यवहार आफ्नै हितकालागि हो भन्ने सवैले नबुझ्दा जोखिम बढेको हो ।

Back to top button