थापालाई पराजित गर्न भूमिका निर्वाह गर्नेलाई कारवाही

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न भूमिका निर्वाह गर्नेलाई वागमति प्रदेशको नेकपा एमाले संसदीय दलले कारवाही प्रक्रिया सुरु गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका निर्वाह गरेको आरोपमा १४ जना प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, बसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, ईन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाँई, लक्ष्मण लम्साल, कसुमकुमार कार्की र पार्वती सिलवाललाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले बताउनुभयो ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गर्दै आएको र चुनावमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेकाले कारवाही किन नगर्ने भनी स्पष्टिकरण माग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । प्रदेशसभामा एमालेका ५६ जना प्रदेशसभा सदस्यमध्ये माधवकुमार नेपाल पक्षका २१ जना छन् ।

Back to top button