राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाँदै

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि हस्ताक्षर गरेका विपक्षी गठबन्धनका सांसदहरु आज सर्वोच्च अदालत जाँदै छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसदहरु सर्वोच्चमा सशरीर उपस्थित हुन वपक्षी गठबन्धनले सर्कुलर जारी गरेका हुन् ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदरको माग दावीसहित रिट निवेदन लिएर देउवालगायतका विपक्षी गठबन्धनका शिर्ष नेताहरु सर्वोच्च अदालत जाने तय भएको हो ।

विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि हस्ताक्षर गरेका १४९ जना सांसदको अदालतमा भौतिक उपस्थिति रहने कांग्रेसका एक नेताले बताउनुभयो ।

रीट निवेदन लेख्न, सांसदहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कागजात तयारी गर्न आइतबार नभ्याइएकोले आज अदालत खुल्नासाथ रीट निवेदन दर्ता गराउने एक नेताले बताउनुभयो ।

Back to top button