बुधबार लाग्ने चन्द्रग्रहणको सुतक नलाग्ने

काठमाडौं । जेठ १२ गते बुधबार वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभएको छ । नदेखिने ग्रहणका विषयमा पात्रोमा सूचना नदिने गरेको भन्दै उहाँले अल्पग्रास भएर लाग्ने ग्रहणलाई बार्नु समेत नपर्ने बताउनुभयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर ‘१२ घण्टा’ र चन्द्रग्रहणमा तीन प्रहर ‘नौ घण्टा’ अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् तथा समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसरी सुतक बार्दा भने भोजन गर्न नहुने धार्मिक विश्वास रहि आएको छ ।

Back to top button