अर्थ मन्त्रालयले छुट्यायो प्रदेश १ का चारसहित १२ अस्पताललाई ८ करोड १० लाख

काठमाडौं । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि प्रदेश १ का चारवटा जिल्ला अस्पताल सहित १२ अस्पतालका लागि थप ८ करोड १० लाख रूपैयाँको सहमति दिएको छ ।

यसरी बजेट पाउनेमा प्रदेश १ का इलाम, धनकुटा, संखुवासभा र ओखलढुङ्गा जिल्ला अस्पताल रहेका छन् । इलामलाई ७५ लाख, धनकुटालाई ७५ लाख, संखुवासभालाई ८० लाख र ओखलढुङ्गा जिल्ला अस्पतालका लागि २५ लाख रुपैयाँ बजेट छुट्टिएको हो ।

यस्तै अर्थ मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख छुट्टयाएको छ ।

यस्तै रामेछाप अस्पतालले ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमले ७५ लाख, टीकापुर अस्पताल कैलालीले ७५ लाख, र व्यास अस्पतालले २५ लाख पाउने भएका हुन् ।

स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न यसअघि पनि बजेट सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

Back to top button