भारतमा कालो, सेतो सँगै पहेंलो ढुसि पनि देखा पर्‍यो

विराटनगर । भारतका विभिन्न राज्यहरुमा कोरोना भाइरसको संक्रमण भई निको भएकाहरुमा विभिन्न रंगका ढुसि(फङ्गस)पर्ने समस्या देखिन थालेको छ । कालो र सेतो ढुसीको समस्या केहि अघिसमय अघि देखि देखा परेको हो ।

अहिले उत्तर प्रदेशको गाजियाबादमा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण पनि भेटिएको त्यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ डा. बीपी त्यागीले पुष्टि गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बिरामीलाई पहेँलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण देखिएको भन्दै उहाँले ति बिरामीको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभएको छ । त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणमा निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वभाविक कमी आउने जस्ता देखिने गरेको छ।

यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्ने, घाउ ढिलो निको हुने, कुपोषण हुनसक्ने जस्ता लक्षण देखा पर्ने हुनसक्छ । डा. त्यागीका अनुशार यो रोगका कारण सुनिएको आँखा वा जीवित तन्तुका कोषहरूले क्रमश काम गर्न छाड्छन् ।

उहाँले पहेँलो ढुसी घातक रोग भएको उल्लेख गर्दै यसका लक्षणहरुलाई याद गर्नु महत्वपूर्ण हुने बताउनुभएको छ । समयमा लक्षण ख्याल नगर्दा उपचारमा कठिनाई हुने भन्दै यो रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्सन रहेको बताउनुभएको छ ।

घर वरीपरिको सरसफाईलाई समेत ध्यान दिन आवश्यक रहेको भन्दै विज्ञहरुले ब्याक्टेरीया बृद्धि गर्नसक्ने वातावरण बन्न दिन नहुनेमा जोड दिएका छन् ।

भारतमा भेटीएका विरामी कोरोना संक्रमण भएर निको हुँदै गरेका ब्यक्ति रहेको तर क्रमशः पछिल्लो चार दिनमा अनुहारको एकापट्टी फुल्न थालेको थियो ।

अनुहार फुल्दै जाँदा बिरामीलाई आँखा खोल्न र बन्द गर्न कठिन हुन थालेको थियो । विस्तारै नाक र पिसाबबाट पनि रगत बग्न थालेपछि अस्पतालमा भर्ना गरि मेडिकल परीक्षण गर्दा पहेँलो ढुसी सङ्क्रमणको पुष्टि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Back to top button