पथरीमा आजदेखि अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका आजदेखि कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन भएको छ ।

१५ ‘बेड’ को आइसोलेसन वार्डको नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बाँस्तोलाले आज उद्घाटन गर्नुभयो । वडा नम्बर २ स्थित नगर अस्पतालमा आइसोलेसन शुरु गरिएको हो ।

पथरीशनिश्चरेमा आज सम्म प्राप्त रिपोर्ट अनुसार ८० पुरुष र ८० महिला गरी १ सय ६० जना कोरोना संक्रमित भएका छन् । ति मध्ये ५३ जना निको भएको नगरपालिकाले जनाएको छ । आफ्नै घरको आइसोलेसनमा १ सय ४३ जना र अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १ सय छ भने ७ जनाको मृत्यु भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिनुभएको छ । नगरमा जेठ २ गते रातिबाट औषधि पसल बाहेक सम्पूर्ण पसल र आवतजावत वन्द गरिएको छ । नगरमा जनप्रतिनिधि र कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

आइसोलेसनलाई सहयोग जुट्दै

पथरीशनिश्चरेमा सञ्चालनमा आएको आइसोलेसन सेन्टरका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । अमेरिका– नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख भन्दा बढी रुपैयाँका सामग्री प्राप्त भएको छ । ति सामग्री पथरी–काठमाडौं मैत्री समाजको पहलमा सामग्री जुटाएर नगरलाई हस्तान्तरण गरिएको छ ।

आइसोलेशनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि यसअघि गाउन, एन नाइन्टीफाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर तथा केही उपकरणका सामग्री उपलब्ध गराइएको छ ।

यसैगरि आइसोलेसनका लागि पथरीशनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईबाट २ वटा र युवा समाजसेवी भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटबाट ३ वटा खाली सिलिण्डर उपलब्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ । नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्नका लागि उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गर्नुभएको छ ।

Back to top button