एसईई परिक्षाबारे एक–दुई हप्ताभित्र निर्णय हुने

काठमाडौं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा अर्थात कक्षा १० को एसईई बारे के गर्ने भन्ने विषयमा कार्यदलले काम गरिरहको छ । कार्यदलले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार पार्ने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एक÷दुई हप्ताभित्र निर्णय गरिने बताउनुभयो ।

आज आयोजित एक भर्चुअल छलफलमा प्रवक्ता शर्माले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट पार्नुभएको छ । यस्तै कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने समेत उहाँले बताउनुभयो ।

बालबालिका विज्ञ डा. मीनाक्षी दाहालले विषम परिस्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताउनुभयो । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरूपमा सूचना प्रविधिका साधनसँग जोड्न तीनैवटै तहका सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

Back to top button