मेरो नजरमा माधव नेपाल र केहि प्रश्न

 

–रामप्रसाद पराजुली

माधव नेपालसित मेरो पहिलो भेट २०४६ सालपछि २०४८ सालको पहिलो संसदीय निर्वाचनपूर्व दिल्लीमा भएको थियो । कुनै कार्यक्रम विशेषले माधव नेपाल र विद्वान मोदनाथ प्रश्रित आउनुभएको थियो । आउनुको मूल कारण चाहिँ प्रवासी नेपाली समुदायमाझ निर्वाचनका निमित्त आर्थिक सहयोग जुटाउन, भारतीय साथीभाइ र भाइचारा दलहरूसित अन्तरक्रिया आदि रहेछ, जुन अलिकपछि मात्र थाहा भयो ।

मलाई प्रवासका जिम्मेवारहरूले उहाँहरूसित दिल्ली घुम्न आवश्यक सरसहयोग गर्ने जिम्मेवारी दिनुभयो । त्यहिं सिलसिलामा दिल्लीको नारायणा स्थित सत्यपार्कको खुल्ला मैदान दिल्ली र आसपासका प्रवासी नेपाली आन्दोलनका तमाम नेता र कार्यकर्तालाई लिएर आउने थप जिम्मेवारी दिनुभयो । न्युन आयआम्दानीमा घर गृहस्थ चलाएर बसेको मेरो अवस्था चाहेर पनि मनग्यै खर्च गर्न सक्ने अवस्था थिएन ।
तथापि, कम्युनिष्ट आन्दोलन, पार्टी संगठन र नेतृत्व भनेपछि मन जे गर्न पनि तयार हुन्थ्यो ।  खल्ती टकटकाउँदा निक्लिएको १५ सय रूपैयाँ खर्च गरेर त्यो भेला जुटाउने काम गरेको छु । भेला सम्पन्न भयो । भेला राम्रो भएको समिक्षा भयो । तर, भेला जुटाउन लाग्ने कार्यकर्ताको के–कति लगानी भयो ? अहँ, सोधिएन । यसपछि पनि पटकपटक धेरैपटक उहाँसँग भेट भयो । दिल्ली आउँदाजाँदा भेट भइरह्यो । कहिल्यै त्यो विशेष बेलाको सम्झना भएन । त्यो विशेष बेलाको मात्र होइन, एउटा खास बेलामा साथ दिने साथी समेत सम्झनामा रहेनछ । परिचय गर्नुपर्ने अवस्था विकास हुनथाल्यो । त्यहिंबेलादेखि कस्तो स्वभावको मानिस होला– माधव नेपाल, मनभरि कुरा खेलिरहन्थ्यो ।

२०५० साल जेठ ३ गतेको प्रलयकारी जीप दुर्घटनापछि उहाँ पार्टी प्रमुख हुनुभयो । गत्तिलो मानिस त महासचिव हुनुभएन– मनमा लागिरहन्थ्यो, कसैलाई भनिँन । उहाँको नेतृत्वमा पार्टीले निर्वाचनमा भाग लियो । जननेता मदनकुमार भण्डारीको ओजस्वी राजनीतिक राततापको प्रभाव र उहाँको सम्मानमा बहुसंख्यक जनताले पत्याए । निर्वाचनमा नेकपा (एमाले) ठूलो दल भयो । ठूलो दल भएपछि पार्टी अध्यक्ष कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढ्यो । कम्युनिष्ट आन्दोलनको आदर्श पुरूष कमरेड मनमोहन अधिकारीको मन्त्रीमण्डलमा उहाँ कमरेड माधव नेपाल उपप्रधानमन्त्री बन्नुभयो ।

पार्टी संगठनात्मक काम र राजकीय कामको दोहोरो गति र अन्तरसम्बन्धले पार्टीलाई गतिशील तुल्याउन प्रयास भइरहेको थियो । यत्तिकैमा आयोजित पार्टीको ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा पार्टीको प्रमुख नेता सरकारमा नजाने स्पष्ट थियो । सरकारमा जानुपर्ने ब्यक्तिबिशेष उम्रिएको उहाँको तीब्र महत्त्वाकांक्षा व्यवस्थापनका लागि पार्टी विधानको व्यवस्थालाई लत्याउँदै तत्कालीन अवस्थामा पार्टी कामको जिम्मेवारी कमरेड बामदेव गौतमलाई दिनुभयो । आफ्ना लागि विधानको व्यवस्थालाई लत्याउन सक्ने उहाँ कस्तो नेता होला ? फेरि मलाई यसले च्वास्स घोच्य ।

कमरेड बामदेव गौतमको नेतृत्वमा नेकपा (एमाले) को राजनीतिक–संगठन र सरकारबीचको कामको तालमेल असाध्यै आकर्षित थियो । कमरेड बामदेवले यसबीचमा असाधारण क्षमता देखाउनुभयो । कार्यकर्तामा जननेता मदनकुमार भण्डारीको अभावपूर्तिको भूमिकामा रहेर कमरेड बामदेवले पार्टी संगठनको बिस्तारमा एउटा भिन्न खालको गति र उचाइ लिनुभयो । पूर्वाधार विकास र भौतिक निर्माणदेखि लिएर पार्टी शुद्धिकरण र सुदृढिकरणमा ‘नौ’ सको कार्यक्रममार्फत सिंगो पार्टी निर्देशित भयो र सलह परिचालित भयो । सहायक भूमिकामा रहनुभएका कमरेड बामदेवले असाधारण र चमत्कारिक काम गर्नुभयो । देश नै एमालेमय भयो । स्थानीय समुदायआधारित मुद्धाहरूमाथि जनसंगठनहरू क्रियाशील हुने र सरकारमार्फत यसको सम्बोधन र व्यवस्थापनमा जोड दिनुपर्ने कामको अगुवाइ कमरेड बामदेवले गर्न थाल्नुभयो ।

यता आदर्श पुरूष मनमोहन अधिकारी नेतृत्वका सरकार र अर्कोतिर गतिशील नेता बामदेव गौतमको प्रत्यक्ष नेतृत्वबाट परिचालिन पार्टी नेकपा (एमाले), वैरी विपक्षीलाई सह्य भएन । सरकार ढाल्ने तरखरमा एमालेबाहेकको सिंगो शक्ति लाग्यो । अन्ततः ९ महिनामै सरकार ढल्यो । ढलेपछि सरकारमा गएका नेता माधव नेपाल पुनः पार्टी प्रमुखको भूमिकामा आउनुभयो ।

नेता कमरेड बामदेव गौतम नेतृत्वकालमा प्रभावशाली बन्दै गएको पार्टी कामले सोहीअनुसार गति लिँदा माधव नेपाल कमजोर हुने स्थितिको अध्ययन र निष्कर्षपछि बामदेवलाई कमजोर पार्ने, असहयोग गर्ने, उनकाविरूद्ध गुटबन्दी गर्ने र सम्पूर्ण रूपले खुइलयाउने अभियानमा स्वयं माधव नेपाल धर्नाढुक्क भएर लाग्नुभयो । छैटौँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा यो दिउँसोको घाम झैँ छर्लङ देखियो, पटाक्षेप भयो ।

महाधिवेशनमा पेश हुने कार्यनीति दस्तावेजको लेखनको जिम्मामा रहनुभएका बामदेवलाई छुटाएर अर्का नेता कमरेड केपी शर्मा ओलीलाई अघि सारियो । नेता बामदेव गौतमको राजनीतिक व्यक्तित्वबाट झस्कनु र उहाँलाई पाखा लगाउन प्रयास गर्नु माधव नेपालको नीचतहको हर्कत थियो यसपछि के भयो ? सबै कुरा छर्लङ छ, धेरै सन्दर्भहरू यहाँ उठाइरहन पर्दैन ।

लगातार १५ दिनसम्म नेपालगञ्जमा कमरेड बामदेव गौतमलाई परस्पर लडाउने र भिडाउने काम भयो पार्टीको प्रमुख नेतृत्व माधव नेपालद्वारा । मूल नेतृत्वमा रहेका माधव नेपालको भूमिका निर्णायक हुनुपर्ने तर नियोजित ढंगले झन्झन् फितलो थियो । कतिसम्म भने एउटा महत्त्वपूर्ण दस्तावेज लेखनको जिम्मेवारी दिएको व्यक्तिलाई महाधिवेशनको मञ्चमा बोल्नसमेत दिइएन । यतिबेलासम्म बामदेव गौतमको बढ्दो लोकप्रियताबाट खुट्टा कमाएर बसेका माधव नेपालले परिस्थितिलाई सम्हाल्न सक्नुभएन । उहाँ सिरकभित्र बसेर मख्खन खाने स्वभावको नेता– परस्पर भिडाएर आफू एक्लो बर्चस्व सहित उपस्थित हुन चाहनुहन्थ्यो । महाधिवेशनबाट निर्वाचित कमिटीमा १४ जनालाई राखिदिनुस् भनेर कमरेड बामदेवले अनुनय विनय गर्दा ८ जनाभन्दा बढी राख्न सकिन्न भन्दै अत्यन्तै हचुवातालको हेलाँ र घृणाले भरिएको व्यवहार भयो । आफ्नो महासचिवको पदमाथि प्रश्न उठ्छ, दादागिरी अन्त्य हुन्छ, एकलौटी बर्चस्व सकिन्छ भन्ने मनौवैज्ञानिक त्रासबाट उठ्न सक्नुभएन माधव नेपाल ।

न नीति–विधिमाथि सघन छलफल, न प्रस्तावित दस्तावेज लेखनसम्बन्धी अभिव्यक्ति राख्न दिइने स्थिति, न नेतृत्वको सम्मान र व्यवस्थापन । अन्ततः पार्टी विभाजन भयो । म अहिले पनि ढुक्कसँगले भन्न सक्छु– माधव नेपालले चाहेको भए त्यो बेला पार्टी विभाजन रोकिन सक्थ्यो । यसपछि लगत्तै निर्वाचन आइरहेको थियो । एकलौटी बहुमतको सरकार बन्न सक्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनको मुहार नै अर्को हुन्थ्यो अहिलेसम्म ।

विडम्बना १ यस्तो भएन । माधव नेपालको पदमोह र महत्त्वाकांक्षाका कारण पार्टी विभाजन भयो । एमाले र माले बन्यो नेकपा । मुलुकमा राजनीतिक अस्थिरताको खेल सुरू भयो । यहिँ अस्थिर राजनीतिक भूमिरीबाट माओवादी पनि जन्मियो ।

परिस्थिति यसरी विकास भइरहँदा पनि पार्टी विभाजनको एकोहोरो दोष चाहिँ नेता कमरेड बामदेव गौतममाथि मात्र थोपरियो । इतिहासको एउटा कालखण्डमा यसको समिक्षा हुँदै जाँदा पुनः पार्टी एकिकरण भयो । एकतापछि बनेको नेकपा (एमाले) मा पनि जननेता मदनकुमार भण्डारीका राजनीतिक बैचारिक सहयात्री कमरेड बामदेवलाई होच्याउने, अपमान गर्ने र क्रमशः कमजोर पार्ने काम हुँदै गयो, त्यो पनि मूल नेतृत्वमा रहनुभएको नेता माधव नेपालबाट मूलधारमा उभिएर यसको राजनीतिक बैचारिक कामको अगुवाइ गर्न सक्ने नेतालाई कहिले संगठन विभाग, कहिले स्कुल विभाग, कहिले बिदेश विभाग, कहिले आर्थिक विभाग आदिको जिम्मेवारी दिइनु आफैंमा उहाँलाई थन्क्याउनु मात्र थिएन र ? सजिलैसँग अनुमान लगाउन सकिन्छ । एउटा पार्टीको प्रमुख नेतृत्वमा रहनुभएको उहाँलाई एकतापछि अखिल नेपाल किसान महासंघको जिम्मा लगाउनु हाँस्यास्पद होइन? यहाँबाट पनि माधव नेपालको योग्यताको मापन गर्न सकिन्छ ।

माधव नेपाल आफ्ना समकालीन नेताहरूको खोइरो खन्ने र उनीहरूलाई कसरी पाखा लगाउन सकिन्छ ? भनेर अहोरात्र गृहकार्य गर्ने पात्र हुनुहुन्छ । नवौं राष्ट्रिय महाधिवेशन कक्षमा आइपुग्दा यहिं दृश्य दोहोरियो कमरेड केपी शर्मा ओलीमाथि । जननेता मदनकुमार भण्डारीको दुःखद् देहावसानपछि १५ वर्षसम्म नेतृत्व गरिसक्नुभएको उहाँले फेरि नेतृत्वमा आउन जरूरी थियो ? आफू अघि नसरेर कमरेड केपी शर्मा ओलीसँग अर्को कुनै नयाँ–नौलो र सम्भावनाले भरिएको सिर्जनशील राजनीतिक अनुहारलाई अघि सारको भए उहाँको राजनीतिक हाइट र वैट घट्ने थिएन । बरु निश्चय नै बढ्ने थियो । त्यो पनि भएन । त्यहाँ पनि उहाँको नियतमा खोट थियो, पदप्रतिको लालसा भनेर मज्जाले अध्ययन गर्न सकिन्छ ।

पार्टीको ऐतिहासिक महाधिवेशनको राजनीतिक संगठनात्मक कक्षबाट निर्वाचित पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको सक्रियता माधव नेपाललाई सह्य थिएन । अपेक्षाकृत यो सरकारले प्रत्येक प्रतिकूल बेलामा पनि राम्रा काम गरेको छ । हामी लाखौं कार्यकर्ताले भन्नलायक काम गरेको छ । यसबाट तिलमिलाएका माधव नेपालले आफ्नो नामोनिशान साफ हुने भयो भन्ने डरले जनयुद्ध धङधङीबाट भरखरै संगठन गर्न लागेको प्रचण्डसँग सहकार्य गर्दै ओलीको उपस्थितिविरूद्ध खेल्न थाल्नुभयो ।

कम्युनिष्ट हुनुको नाताले कमरेड प्रचण्डसँगको सहकार्य र परस्पर विश्वासयोग्य वातावरणको आदानप्रदान त ठीकै थियो, उहाँ त कमरेड केपी शर्मा ओलीलाई सर्वत्र सक्न नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाको समेत पाउ मोल्न पुग्नुभयो । यो अर्को दुर्भाग्य निम्त्याउने खेल बेलामै पर्दाफाश भएको छ, नत्र कत्रो ठूलो दुर्घटना व्यहोर्नुपर्ने हुन्थ्यो ।

२०५४ सालदेखि अहिलेसम्म माधव नेपाललाई अध्ययन गर्दा उहाँ सम्पूर्ण विभाजनको दोषी मात्र होइन, आफ्नै प्रधानमन्त्रीविरूद्ध नेपाली कांग्रेसका सभापति देउवासँगको मोर्चाबन्दी गर्नुले नेपाली जनताको वर्गवैरी नै हो भन्ने प्रष्ट भएको छ । दलीय अनुशासनलाई तोडेर निर्दलीय उपस्थिति भएजस्तै आफू सहित दर्जनौं सूर्य चिन्ह ध्वाजाबाहक उम्मेदारको समर्थनका नाउँहरू लिएर अदालत पुग्नुभएको छ । यसले दलीय व्यवस्थाको विकल्पमा माधव नेपालको ध्याउन्न देखिन्छ । हामी नेपाली जनता, तिनका माझ स्थापित कार्यकर्ता र सम्पूर्ण नेतृत्ववर्ग बेला छँदै सचेत र सजग भएनौं भने दुर्गति सिवाय हाम्रालागि हातलागी केही हुने छैन ।

उहाँको बारेमा कुनै विद्रोह र आन्दोलन होइन, अध्ययन–अनुसन्धान र अन्वेषण गर्नुपर्छ । यसबेला हामीले निम्नानुसारका विषयहरूमा प्रस्टोक्ति लिन जरूरी छ ।

१. पार्टीको एतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको दोस्रो पृष्ठमा उल्लेख भएको नेपाली क्रान्तिसम्बन्धीका प्रस्तावित र पारित अवधारणालाई अनावश्यक ठान्नुभएको थियो, किन ?

२. बयोबृद्ध तथा सन्त नेता मनमोहन अधिकारीलाइ शक्तिहिन बनाई तपाईं कार्यकारी उपप्रधानमन्त्री बन्नुभएको होइन ? नेपालको पहिलो कम्युनिष्ट सरकार भनेर सहन गरिदिएको होइन ?

३. यतिबेला नेता कमरेड बामदेव गौतमको उपस्थिति, आवश्यकता र सक्रियता खाँचो हुने महसुस तपाईंलाई सरकार ढलेपछि नेता गौतमलाई लखेट्न र सक्न लाग्नुभएको होइन ?

४. आफूसँग फरक मत राख्ने अर्थात् बिपक्षमा लाग्ने नेता सीपी मैनाली, केशवलाल श्रेष्ठ, गोपाल शाक्य, त्रिलोचन ढकाल, टंक कार्की, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, केशब स्थापित र दयालबहादुर शाहीजस्ता दर्जनौं नेता कार्यकर्तालाई सक्ने तपाई होइन ? तथापि, तपाईंलाई पार्टी अनुशासनका नाउँमा अभिभावक मानिदिएको होइन ?

५. राजतन्त्रविरोधी आन्दोलनको ज्वार सिर्जना भइरहेको बेला प्रतिगमन आधा सच्चियो भनि प्रतिबेदन पेश गर्ने तपाई होइन र ? मूल नेताले भनेपछि हामीले मान्नुपर्छ भनेर मानिदिएको होइन ?

६. यसलगत्तैपछि प्रधानमन्त्रीका लागि घुँडा टेकेर राजासमक्ष बिन्तिपत्र हाल्नुभयो होइन ? तथापि, एउटा विज्ञापनको अवस्था थियो, उहाँले निवेदन हालेको हो भनेर हामीले मानिदिएको होइन ?

७. तपाईले थाहै नदिइकन राजासमक्ष दाम चढाउनु भयो । दाम चढाउनु तत्कालीन समाज–व्यवस्थाको उपज थियो । एकखालको संस्कार थियो । यत्ति गर्दैमा बिग्रेको केही पनि छैन भनिदिने हामी कार्यकर्ता नै होइन र ?

८. २०५२ पछि माओवादी र वाइसीएलका हिंस्रक गतिविधि, ज्यादति, उदण्ड हर्कत र बर्बरतामा तपाईं मौन बस्नुभयो । मारिएका आफ्ना कार्यकर्ताका नाउँमा र सम्मानमा विज्ञप्ति समेत निकाल्न सक्नुभएन । परिस्थिति यस्तै हो स्वयंलाई सम्झाइबुझाइ बस्ने हामी होइनौं ?

९. २०६४ मा सम्पन्न निर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोर्नुपर्ने स्थिति आयो । यस्तो हो– लुटपाटको माओवादी राजनीति । मानिसले डरत्रासले पनि यसपटक हामीलाई भेट दिएनन् भनेर पनि तपाईंलाई नेता मानिदिने हामी नै होइन ?

१०. सधैं पहिलो हुने हाम्रो राजनीतिक बैचारिक हिसावले समुन्नत एवं गौरवशाली पार्टीलाई ३० सिटमा झारेर तेस्रो बनाइदिनुभयो । यसबेला पनि उचित नेतृत्व हस्तान्तरण नगरी पार्टीलाई माझसडकमा छोडिदिनु भयो । तथापि, तपाईको उच्च नैतिकता भनिदिने पनि हामी होइनौं ?

११. पार्टीका विधानमा २ कार्यकाल पार्टी प्रमुख भएपछि तेस्रो कार्यकालमा नेतृत्वमा आउन नपाउने, हुन नपाउने व्यवस्थालाई महासचिव पो भए त, अहिले अध्यक्षमा यो लागू हुन्न भन्नुभयो । हामीले सर्लक्कै मानिदियौं, यो गलत भयो र ? तपाईंलाई यहिँनेर नपचेको हो ?

१२. नवौं राष्ट्रिय महाधिवेशनमा आफ्नै कार्यकर्ताबाट शर्मनाक पराजित भएपछि पार्टीको बरियताक्रममा पधाधिकारीभन्दा पछिको स्थायी कमिटी सदस्य हुन पर्नेमा सिनियर नेतालाई तेस्रो नम्बरको वरिष्ठ नेता मानिदिएको होइन र ? पार्टी फोर्ने गतिविधिमा नलागिदिनुस् भन्ने अनुनय–विनयलाई मान्नुभएको छ ?

१३. तपाईं पार्टी बिदेश विभाग प्रमुख हुँदा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम काठमाण्डौंमा गराउनुभयो । होलिवाइनको चुस्कीले घुमाएकै भरमा मन्त्री बनाउनु र प्रधानमन्त्रीलाई समेत गुमराहमा राख्नुभयो । यो पनि केही भएन भनेर तपाईंलाई नेता मानेको होइन ?

१४. एमाले–माओवादी एकतामा उत्पाद् गर्न खोज्नुभयो, छलछाम गर्न खोज्नुभयो र एकतानै भाड्न खोजेपछि अध्यक्षहरूपछिको हैसियतमा वरिष्ठ बनाइदिएको होइन र ? समान हैसियतको व्यक्तिको नेतृत्वमा रहेको सरकार ढाल्न नेपाली काङ्ग्रेस सभापति देउवाको पाउ मोल्नुपर्ने अवस्था कसरी आयो ? हामी कार्यकर्तालाई भन्नुपर्दैन र ?

१५. एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड जवाफदेही पार्टी एकताको पक्षलाई टुङ्गो लगाउन तपाईंले भनेअनुसार कार्यविभाजन र भागबण्डा गरिदिएको होइन र ? अध्यक्षविरूद्ध महागठबन्धनको तयारी भइरहँदा नेपाली काङ्ग्रेस सभापति देउवाको शरणमा पुग्नुभयो । यो तपाईले पाएको मान सम्मानको पक्ष सम्झिनुपर्ने होइन ?

१६. पार्टी प्रमुखका हैसियतले १५ वर्षसम्म लगातार तपाईले नेतृत्व प्रदान गर्नुभएका निर्वाचित अध्यक्ष केपी शर्मा ओली पक्षधर कार्यकर्तालाई ओलीका दास, भेडा, घाँस खाने प्राणीहरू भन्नुभयो । यो पनि सहेको होइन ?

१७. एकातिर पार्टी एकताको प्रक्रिया टुंगो लागेकै छैन, अर्कोतिर तपाईं ओलीको ओजविरूद्ध समानान्तर कमिटी बिस्तार गर्दै हिड्नुभयो । बृहद् नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा एकिकृत पार्टी निर्माणका लागि तपाईंको अनुचित् हर्कत पनि सहेर बस्ने हामी कार्यकर्ता नै होइनौं ?

१८. माओवादी अध्यक्ष प्रचण्डको गोटी बनेर सौताका रिसले पोइको काखमा … भने झैँ तपाईंले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउनुभयो । आफू सग्लो र चोखो हुनुभयो तर त्यहिँ पनि ४ जनाको राजनीति समाप्त पारिदिनुभयो । यो अक्षम्य गल्तीलाई पनि सहेर बसिदिने हामी कार्यकर्ता नै होइनौं  ?

१९. आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वास मत लिने प्रयास भइरहँदा आफ्ना अगुवापछुवा २७ जनालाई अनुपस्थित गराउने खेलको खलनायक तपाईं नै होइन ?

२०. एमालेका लागि संसद सदस्य समेत त्याग गरेका वरिष्ठ बामपन्थी नेता, जो निशर्त एमाले बन्नुभयो– कमरेड रामबहादुर थापा बादललाई स्थानीयका २८ र प्रदेसका १३ पार्टी अनुशासनहिन जनप्रतिनिधिलाई स्वतन्त्र उम्मेदवारको स्वतन्त्र चुनाव चिन्हमा भोट हाल्न उर्दी गर्ने नालायक राजनीतिकपात्र तपाईं नै होइन ?

२१. पछिल्लो ३ महिनादेखि यताको प्रयासमा ३–३ दिनसम्म वैकल्पिक सरकार दिन नसक्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको एक झुण्ड देउवा, प्रचण्ड, उपेन्द्र र बाबुरामलाई भाँडेर र जोडेर आफ्ना २७ जना होनाहार नेता कार्यकर्तालाई समेत झापाको जेलबाट इलाम लैजाने बहानामा सुखानीको जङ्गलमा ५ जना योद्दालाई पञ्चले मारे झैं देउवाको शरणमा लगेर बलि चढाउने तपाईं कृतघ्न कुपात्र होइन ?

२२. भरखरै मात्र संसद भवनमा र सर्वोच्च अदालतमा २३ जना निवर्तमान माननीयलाई लेकतिरका भेडाबाख्राजस्तै प्रचण्ड–देउवाको पसलमा जाक्ने, कोच्ने र बेच्ने तपाईं नै होइन ?

२३. आसन्न दशौं राष्ट्रिय महाधिवेशन र आवधिक निर्वाचनअघि नै दुई तिहाई केन्द्रीय सदस्यको दुहाई दिँदै यसलाई ओली नेतृत्वको कम्युनिष्ट आन्दोलनको बचाउ गर्न नेपाली काङ्ग्रेस सभापति शेरबहादुर अगाडि आइदिनुपर्ने भयो भन्ने तपाई नै होइन ?

२४. भरखरै एकिकरणको प्रक्रियामा आएका प्रचण्डलाई उचालेर निर्वाचित अध्यक्षलगायत नेतृत्वलाई पटकपटक कारबाही गर्ने तपाई नै होइन ?

यस्ता थुप्रै कर्म, कुकर्म गर्ने तपाई । यसलाई शीरोधार्य गर्ने अर्थात् सहेर बसिदिने हामी  । अहंकार, कुण्ठा, पदलोलुपताको गणित नाप्ने तपाईं । त्याग, निष्ठा, इमान, सदाचार, लगन र कर्मानुसारको जिम्मेवारी बहन गर्ने हामी । आखिर यो कहिलेसम्म ?

योबाहेक अध्यक्ष कमरेड केपी शर्मा ओलीको कार्यशैलीमा कमिकमजोरी भए आउनुस्– संस्थागत ढंगले कुरा गरौँ, कम्युनिष्ट आन्दोलनलाई बचाऔँ । नत्र, तपाईंको सर्वसत्तावादी महत्त्वाकांक्षा पूरा गर्ने अभियानको मलामी बन्न सकिँदैन । भीरबाट झर्न लागेको गाइलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन । एउटा सानो गुटको होइन, राजनीतिक बैचारिक हिसावले सुस्पष्ट कम्युनिष्ट आन्दोलनको जग बसाल्न योगदान गर्ने भए अहिलेसम्म हामीले बुझेको तपाईं माधव नेपाललाई नयाँ आँखाले नयाँ क्षितिजबाट बुझ्ने प्रण सहित लाल सलाम ।

लेखक, एमालेका पुराना नेता हुनुहुन्छ । माथागढी १, चिदीपानी, जिल्ला पाल्पा निवासी उहाँ अहिले पेशाका सिलसिलामा पश्चिम विहार, दिल्ली बसाइँ गर्दै आउनुभएको छ ।

Back to top button