दुरगामी निर्णय नलिन प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको खबरदारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै संसदीय प्रक्रिया छलेर दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी गर्नुभएको हो । देउवाले न्यायपालिकामा मुद्दा विचाराधीन रहेको भन्दै यस्तो अवस्थामा दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गर्नुभएको हो ।

कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको आरोप लगाउँदै सभापति देउवाले कोरोना नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगलाई पार्टीकरण नगर्न चेतावनी समेत दिनुभएको छ । खोपलगायतका स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानबिन गर्न समेत उहाँको माग छ ।

सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न देउवाले माग गर्नुभएको छ ।

हरौं विज्ञप्ति

Back to top button