महामारीमा तीनैतहका सरकारबिच प्रभावकारी समन्वय नहुनु दुर्भाग्यपूर्ण

प्रदेश १ मा कोरोना संक्रमणको हट स्पट जस्तै बनेको मोरङ । यस्तो बेला यहाँका स्थानीय पालिकाहरुले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि के गरिरहेका छन् भन्ने आज जिज्ञासा बढेको पाइन्छ । यहि सन्दर्भमा मोरङको बेलबारी नगरपालिकाले संक्रमण नियन्त्रण, रोकथाम र निदानका साथै लागि कसरी काम गरिरहेको छ ? कोरोनाको महामारीका बिच विकास निर्माणको काम अगाडी बढ्न सकेको छ कि छैन ? आउँदो आर्थिक वर्षका लागि कस्तो बजेट ल्याउने तयारी गरिएको छ ? यस्तै सन्दर्भमा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रदेश १ मा कोरोना संक्रमणको हट स्पट जस्तै छ मोरङ । अहिले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि के भइरहेको छ ? सवैको चासो बढेको छ । बेलबारी नगरपालिकामाा संक्रमण नियन्त्रण, रोकथाम र निदान कसरी गरिरहनु भएको छ ?

कोरोना संक्रमण नफैलियोस भन्नका लागि हामी प्रारम्भ देखि नै अत्यन्त सजग भएर लागेका छौं । कोरोनाको कारण नगरबासीले ज्यान गुमाउन नपरोस् भन्नेमा हाम्रो ध्यान छ । त्यसैले नगरवासी बिरामी पर्न थालेपछि सुरुमै एन्टिजेन परीक्षण थाल्यौं । साथै १५ शय्याको आइसोलेसन सेन्टर निर्माण गरेर निःशुल्क एम्बुलेन्स, शव बाहन सेवाको व्यवस्था गर्यौं ।

त्यसपछि नगरपालिका प्रत्येक वडामा स्वास्थ्यकर्मी सहितको र्‍यापिड रेस्पोन्स टीम गठन गरेका छौं । त्यो टीमले संक्रमितको पहिचान गरेपछि एन्टिजेन परीक्षणका लागि संयोजन गर्ने, एन्टिजेन रिपोर्टको बारेमा जानकारी गराउने र संक्रमण पुष्टि भइसकेकालाई तत्काल आवश्यक औषधी उपलब्ध गराएर नियमित निगरानी गर्छ । सँगै उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा अभिलेखीकरण गर्ने काम पनि गरिरहेको छ ।

संक्रमितको स्वास्थ्यमा समस्या देख्ने बित्तिकै आफ्नै एम्बुलेन्समा तत्काल संयोजन गरेर विराटनगरका अस्पताल वा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउने गर्छौं । अहिले बाहिर निस्किने अवस्था छैन । भिडभाडबाट जोगिएरै कोरोनालाई परास्त गर्नुपर्ने छ । सबै जनप्रतिनिधिहरु आ–आफ्ना वडाहरुमा कोरोना संक्रमण फैलिन नदिन सचेतनालगायतका पाटोमा एकआपसमा संयोजन गरेर खटिरहनु भएको छ ।

यसमा राजनीतिक दलहरु, समाजसेवी, बुद्धिजिवी, नागरिक समाज, उद्योगी, व्यवसायीहरुले पनि आ–आफ्नो भूमिका निर्वाह गरेर जनचेतना अभिवृद्धि गर्ने काममा सहयोग गरिरहनुभएको छ । कहीँकतै कसैलाई कुनै किसिमको अप्ठ्यारो परेको बारे नगरपालिकामा जानकारी गराएर सघाइरहनु भएको छ ।

आइसोलेसन सेन्टरलाई कसरी उपयोग गरिरहनु भएको र कस्ता संक्रमितहरुलाई ल्याएर राख्नु हुन्छ ?

संक्रमितको पहिचान भइसकेपछि र्‍यापिड रेस्पोन्स टीमले उहाँहरुको घरको निरीक्षण गरेर मापदण्ड अनुसारको होम आइसोलेसनमा बस्ने व्यवस्था छ कि छैन पहिचान गर्छ । आवश्यक सल्लाह सुझाव र समन्वयका लागि सम्पर्क नम्बर लिनेदिने गर्छ ।

होमआइसोलेसनमा बस्ने अवस्था नभएको ठहर भए तत्काल एम्बुलेन्स मगाएर आइसोलेसन सेन्टरमा व्यवस्थापन गर्छ । आइसोलेसन सेन्टरमा मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले संक्रमितको स्वास्थ्योपचारका साथै प्रत्यक्ष निगरानी गर्ने, निःशुल्क खाना, सरसफाईलगायतको व्यवस्था गरेका छौं ।

होमआइसोलेसनमा बस्नेको संख्या पनि अधिक रहेकाले वहाँहरुको स्वास्थ्य अवस्थालगायतको पाटोमा कसरी काम गरिरहनु भएको छ ?

वडा वडामा खटिएका स्वास्थ्यकर्मीको टोलीले होमआइसोलेसनमा बसेकाहरुको नियमित निगरानी गर्नुका साथै स्वास्थ्य अवस्थाको अभिलेख राख्ने व्यवस्था गरिएको छ । कसैलाई कुनै किसिमको अप्ठयारो पर्ने बित्तिकै स्वास्थ्यकर्मीले वा संक्रमित आफै वा परिवारका सदस्यले नगरपालिकामा सम्पर्क गर्नुहुन्छ । त्यसपछि तत्काल समस्या समाधान गर्ने संयन्त्र नै बनाएर काम गरिरहेका छौं ।

तपाईंले भन्नु भयो घर बाहिर निस्किने अवस्था अहिले छैन । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने, असहाय, बिपन्नहरुलाई भोकै बस्न नदिन केही योजना ल्याउनु भएको छ ?

पहिलो चरणको कोरोना महामारीमा पूर्ण लकडाउन थियो । अहिलेको दोस्रो लहरमा धेरै मानिहरुको भिडभाड हुने बजार, पसललगायतका ठाउँ बन्द गरेका छौं । कृषि मजदुर, निर्माण क्षेत्रका मजदुरहरुका लागि भौतिक दुरी कायम गरेर काम गर्ने व्यवस्था गरेकोले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई अहिले तत्कालै भाकै बस्नुपर्ने अवस्था छैन । तैपनि कतिपय परिवारलाई अप्ठ्यारो छ ।

त्यसका लागि अहिले वडास्तरबाटै नियमित निगरानी गर्ने, काम नपाएका मजदुरलाई सार्वजनिक विकास निर्माणको काममा खटाउने र कसैलाई भोकै बस्नु नपर्ने अवस्था आउन नदिने प्रयास भइरहेको छ । यद्यपी लामो समयसम्म संक्रमणको अवस्था यस्तै रह्यो भने राहत प्याकेज ल्याउनु पर्ने हुन्छ र त्यसका लागि तयारीमा छौं ।

कोरोना संक्रमणका कारण नगरपालिका क्षेत्रमा विकास निर्माण र कार्यालयकै काम पनि प्रभावित भएका होलान् नि ? कसरी सञ्चालन गरिरहनु भएको छ ?

नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा भिडभाड हुन नदिनका लागि बन्द गरेका छौं । तर गर्नैपर्ने वडा तथा नगरस्तरको काम कसैको पनि रोकिन नदिने व्यवस्था गरेका छौं ।

निषेधाज्ञा लाग्नुभन्दा अगाडि नै वडा–वडा तहसम्मका विकास निर्माणका योजनाहरु कार्यान्वयनको चरणमा रहेकाले स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अवलम्बन गरेर विकास निर्माणको कामलाई निरन्तरता दिइरहेका छौं । फिर्ता हुने शिर्षकका बजेट कार्यान्वयनमा जोड दिने नीति लिएका छौं ।

सकेसम्म बजेट फिर्ता जान नदिने गरी त्यस्ता कामहरुलाई अघि बढाएका छौं । तर सामाजिक क्षेत्रका सर्वसाधारणलाई भेला गराएर गर्ने कार्यक्रमहरु यस वर्ष स्थगित गर्ने नीति लिएका छौं । यी यस्ता शिर्षकको बजेट क्रमशः अगामी वर्षमा लग्ने नीति कार्यान्वयनमा ल्याएका छौं ।

चालु आर्थिक वर्षमा तपाईंको दृष्टिकोणमा बेलबारी नगरपालिकामा सबभन्दा राम्रो काम के भयो ?

पहिलो आर्थिक वर्ष सामान्य जानकारी लिँदालिँदै बित्यो । दोस्रो आर्थिक वर्षमा केही काम ग¥र्यौ । तर तेस्रो र चौंथो वर्ष कोरोना महामारीले कामै हुन सकिरहेको छैन । नगरमा पूँजिगत क्षेत्रको विकासको कार्यक्रम र अर्को सामाजिक विकास क्षेत्रका मानव संसाधन विकासको कार्यक्रम गर्ने योजना थियो ।

निर्माण क्षेत्रमा प्राथमिकताका आधारमा योजनाहरु कार्यान्वयन भइरहेको छ । तर हामीले सोचेको सामाजिक क्षेत्रको विकासमा तल्लो तहका सर्वसाधारणलाई कसरी सवल र सक्षम बनाउने भन्ने हो । तर यो योजना कोरोना महामारीले प्रभावित भएको छ ।

पछाडी परेका समुदायलाई रोजगारी सृजना गर्ने, उद्यमी बनाउने र उहाँहरुको जीवनस्तरमा परिवर्तन ल्याउने योजना सफल भइदिएको भए सन्तुष्टि हुने थियो । हामीले यी कार्यक्रमहरु सुरुवात गर्यौं, तर कोरोना महामारीले अगाडि बढाउनै सकेनौं । जस्तो गरिवसँग नगरपालिका, प्रधानमन्त्री स्वरोजगार, खाद्य सुरक्षा, कृषि र पशु पालनलगायत कार्यक्रम अघि बढाउन सकस भएको छ ।

अहिलेको विद्यमान अवस्थामा आउँदो वर्षका लागि कस्तो बजेट ल्याउने तयारीमा हुनुहन्छ ?

बजेट निर्माण प्रक्रिया अहिले भर्खरै सुरु गर्न लागेकाले यस बारेमा सल्लाह, सुझाव लिँदै छलफल गरेर धारणा बनाउन बाँकी छ । माथिल्लो तहको सरकारहरुले यस बारेमा अलिकति भएपनि सैद्धान्तिक रुपमा प्रष्ट हुनुपर्ने आवश्यकता छ ।

अहिलेको कोभिडको महामारीमा तीनै तहको सरकारबीच समन्वय भएर संक्रमण नियन्त्रण, रोकथाम र निदानको काम हुनुपर्ने थियो । तर अहिलेसम्म प्रदेश र संघीय सरकारबीच कुनै किसिमको समन्वय हुन नसक्नु दुर्भाग्य हो । प्रदेश सरकारसँग सम्पर्क विच्छेद भएको लामो समय भइसकेको छ । संघीय सरकार बनाउने र भत्काउने खेलमै व्यस्त रहेकोले समन्वय र सहकार्य हुन सकेको छैन ।

प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका लागि स्वाबसमेत नल्याउनु भन्ने अवस्थामा पुगिसक्यो । कोरोना महामारी नियन्त्रणका लागि गर्नैपर्ने काम अहिलेसम्म स्थानीय तहहरुले गरिरहेकै छन् । तर यो स्थानीय तहको काबु बाहिर भइसक्यो ।

संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेड नपाउनु, संक्रमित पहिचानका लागि समयमा पिसिआर परीक्षणको रिपोर्ट नआउने जस्ता कामले स्थानीय स्तरमा झन संक्रमण फैलिँदै गएको भयावह अवस्था छ ।

कोरोना महामारीबाट मुक्त हुनका लागि सरकारले तत्काल खोपको व्यवस्था संघीय सरकारले गर्नुपर्ने हो । खोप लगाउने कामलाई तिब्रता दिन सक्यौं भने खोप लगाएका व्यक्तिहरुलाई नियमित काममा फर्काउन सहज हुने थियो ।

कोरोना महामारीबीच कालोबजारी बढेका गुनासाहरु पनि आउने गरेका छन् । यसको नियन्त्रण र नियमनका लागि के– कस्तो व्यवस्था गर्नु भएको छ ?

अहिले त पूर्ण रुपमै बजार बन्द गरेका छौं । जिल्लाको उत्तरी क्षेत्रका राजमार्गमा रहेको ८ वटा पालिकाले संयुक्त रुपमा निर्णय गरेरै बजार बन्द गरेका छौं । कालोबजारी हुन नदिन नियमित अनुगमन, निगरानी गर्ने र बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेका छौं ।

Back to top button