बजेट स्वागतयोग्य, कार्यान्वयन चुनौतीपूर्ण : उद्योगी राजेन्द्र राउत

विराटनगर । बजेट सुनिरहँदा राम्रो र स्वागत योग्य नै देखिन्छ । आगामी वर्ष पनि स्वास्थ्य र कोभिडका लागि भन्दै स्वास्थ्य पूर्वाधारमा १ खर्ब भन्दा बढी रकम बिनियोजन गरेर प्राथमिकतामा राखेको देखिन्छ । जुन राम्रो हो ।

पूर्वाधार विकासमा पनि राम्रै ध्यान दिइएको छ । पहिले पनि ६० प्रतिशत भन्दा बढी विकास खर्च हुन नसकिरहेको अवस्थामा यसको कार्यान्वयनको पाटोमा आशंका छ । सवैभन्दा ठूलो कुरा विनियोजन भएका बजेट कार्यान्यन गर्नु चाँही महत्वपूर्ण कुरा हो, जुन चुनौतीपूर्ण छ ।

अर्को कुरा बजेटले युवाहरुलाई प्रोत्साहन गरेको छ । जुन अत्यन्त सकारात्मक छ । जस्ले उद्योग शुरु गर्दा ५ दिइएका छुट र कर्जाको विषयले उत्साह थप्ने देखिन्छ । सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र राखेर २५ लालखसम्म ऋण दिने कुरा राम्रो छ । यसले शैक्षिक बेरोजगारलाई घटाउँछ । विदेश जानैपर्ने बाध्यता हट्छ ।

होटल व्यवसायलाई उद्योग सरह राख्ने कुरा धेरै राम्रो छ । कोरोनाको महामारीमा प्रभावित क्षेत्र भनेर ट्रेकिङ, यातायात, हवाई यातायात, चलचित्र, र उद्योगलाई राखेर १ प्रतिशतमात्र कर लिने भनेको छ । यो स्वागतयोग्य छ । सुनसरीको अमडुवामा बिशेष आर्थिक क्षेत्रको अध्ययन गर्न रकम बिनियोजन भएको छ, यो राम्रो छ । जसले लामो समयदेखि निजी क्षेत्रले उठाउँदै आएको माग सम्बोधन भएको छ । विराटनगरको प्रदर्शनी स्थलको निर्माण या स्तरोन्नती भन्ने विषय क्लियर भएको छैन । त्यहिपनि सम्बोधन गर्ने प्रयास भएको छ ।

उत्पादनमुलक उद्योग र होटल व्यवसायलाई निषेधाज्ञा अवधिभरको डिमान्ड शुल्क छुट गर्ने विषय राम्रो छ । कोभिडका बेला दिने भनिएको ५ प्रतिशत ब्याजदरको पुनरकर्जा त्यसलाई निरन्तरता दिनु राम्रो पक्ष हो । देशभित्रै तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्ने कुरा धेरै राम्रो छ ।

अर्काे ब्यापार घाटा बढ्दै गइरहेका बेला पेट्रोलियम पदार्थको आयातमा कमी गर्न सरकराले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने निती लिएको छ । भन्सार दर कम गरेर देशभर ५ सय वटा चार्जिङ स्टेसनहरु निर्माण गर्ने भनेको छ । यसले उत्पादन भइरहेको विद्युतलाई सहि सदुपयोग गर्दै यस्ता क्षेत्रमा लगानी गर्ने वातावरण तयार भएको छ । साथै विद्युतीय सवारी साधन उत्पादन गर्नेलाई जग्गामा छुट र करमा छुट दिनु स्वागत योग्य छ ।

बजेटमा मोटामोटी रुपमा उत्पादनका क्षेत्रलाई समेट्न खोजेको देखिन्छ । यसैगरि २० लाख सम्म कारोबार गर्ने ब्यापारीलाई ९० प्रतिशत आयकर छुट दिने , २० लाख देखि ५० लाख सम्मको कारोबारलाई ७५ प्रतिशत र १ करोड सम्म गर्नेलाई ५० प्रतिशत आयकर छुट दिने बिषय अत्यन्त राम्रो छ ।

मोरङ र सुनसरीलाई भने बजेटले त्यति सम्बधोन गरेको छैन । बर्षौदेखि थालिएको रिङरोडलाई बजेटले छुन सकेन । तीनै तहका सरकार मिलेर बनाउने भनिएको विराटनगर विमानस्थलको स्तरोन्नतीको लागि जमिन अधिग्रहण गरेपनि बजेट बिनियोजन हुन सकेन । यद्यपी समग्रमा बजेट राम्रो र स्वागत योग्य छ, तर कोभिड– १९ नियन्त्रण नभई लिइएको आर्थिक बृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य पुरा गर्न भने चुनौतीपूर्ण छ ।

Back to top button