एकसाताभित्र बजेट अधिवेशन आह्वानकालागि सिफारिस गर्छु : मुख्यमन्त्री राई

विराटनगर। विराटनगर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको बजेट अधिवेशन एकसाता भित्र आह्वानका लागि सिफारिस गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री ज्यूले बजेट अधिवेशनलगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको थियो । बैठकमा मुख्यमन्त्रीले जेठ २४ वा २५ गते प्रदेशसभाको बैठक आह्वानका लागि सिफारिस गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादव बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइराला, विपक्षी दलहरु माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र जसपाका नेता यादव सहभागी हुनुहुन्थ्यो ।

प्रदेशसभा नियमावलीलगायतको कानूनी व्यवस्था अनुसार बजेट आउनुभन्दा १५ दिन अगाडि नै पूर्व बजेट छलफलका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुपर्नेछ । तर पूर्व बजेट छलफलको समय टर्न लागेको भन्दै विपक्षी दलहरुले दवाव दिदै आएका थिए । विपक्षी दलहरुले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई समेत भेटेर प्रदेशसभाको अधिवेशन बोलाएर संवैधानिक र कानुनी व्यवस्था अनुसार निती तथा कार्यक्रम र बजेट ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले कोरोना महामारीले पूर्व बजेट छलफल गर्न नसकिने र संसद बैठक जुमबाट गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउने सार्वजनिक वक्तव्य दिएपछि विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका थिए । प्रदेश सरकारले संसद छलेर अध्यादेशमार्फतै बजेट ल्याउने भन्दै विपक्षी दलहरु सशंकित थिए ।

तर सर्वदलीय वैठकमा भने मुख्यमन्त्री राईले संसदमा पूर्व बजेट छलफलका साथै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको बारे विपक्षी दलहरुलाई जानकारी गराउनुभएको थियो । विपक्षी दलले भने पूर्व बजेट छलफलको म्याद गुज्रिसकेकोले त्यसको निकास निकास निकाल्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यसकालागि उहाँले संबैधानिक निकास निकाल्न कानूनी सल्लाह गर्ने बताउनुभएको कांग्रेसका नेता राजिब कोइरालाले बताउनुभयो । मुख्यमन्त्रीले संवैधानिक र कानूनी मर्यादा अनुरुप नै नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाउनुभएको उहाँले उल्लेख गर्नुभयो । यस्तै सर्वदलीय वैठकमा विपक्षी दलहरुले कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय खोप नै रहेको भन्दै त्यसको व्यवस्था गर्न आग्रह गरेका छन् ।

Back to top button