माधव नेपालसमूहको केन्द्रीय समिति वैठकको निष्कर्ष : पार्टी फुटाउन हतार नगरौं

काठमाडौं । विभाजनको दिशामा अघि बढेको नेकपा एमाले दोस्रो तहका केहि नेताको सकृयतामा पर्ख र हेरको अवस्थामा पुगेको छ । आज बसेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल वैठकमा वार्तामा सक्रिय नेताहरुले अझै एकताको सम्भावना देखाएपछि पार्टी फुटको सम्भावना केहि हदसम्म कम भएको हो ।

आजको वैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले नयाँ पार्टी गठन गर्न हतार गर्न नहुनेमा जोड दिएका छन् । वैठकमा सहभागी एक नेताका अनुशार अझै पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने मत पनि आएको छ ।

जारी वैठकमा सहभागी केन्द्रीय सदस्य महेश रेग्मीले कोशी सन्देशसँगको कुराकानी गर्दै वैठकमा सहभागीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको नाममा अल्मल्याउन खोजिरहेको भन्ने आवाज बढी आएको बताउनुभयो ।

उहाँका अनुशार अध्यक्षले वास्तविक रुपमा नै एकता चाहेको भए वरिष्ठ नेता माधवकुमार नेपाललगायतमाथि गरिएको कारवाहि फुकुवा गर्नुपर्ने र दुई शिर्ष नेताबिच नै वार्ता हुनुपर्नेमा सहभागीहरुले जोड दिएको बताउनुभयो ।

पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्ता गर्दै आउनुभएको छ ।

नेता सुरेन्द्र पाण्डले पनि बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै संवादको कुरा गरेर अलमल्याउन खोजेको जस्तो आभाष भएको भन्दै अहिलेसम्म उपलब्धी भने हासिल नभएको बताएको अर्का नेताले जानकारी दिनुभयो ।

उहाँले आफुहरु भने इमान्दारीताका साथ प्रस्तुत भएको ब्रिफिङ गर्नुभएको छ । वैठकमा वरिष्ठ नेता झलनाथ खनालले समेत अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हतार गर्न नहुने धारणा राखेको उहाँले बताउनुभयो । वैठक अझै जारी रहेको केन्द्रीय सदस्य रेग्मीले बताउनुभयो ।

Back to top button