ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने बजेट वक्तव्य नसच्याए प्रदेश २ सरकारले आवश्यक निर्णय लिने

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ढुंगा, गिट्टी बालुवा निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट वक्तव्य नसच्याए प्रदेश सरकार आवश्यक निर्णय लिन बाध्य हुने चेतावनी दिनुभएको छ ।

मुख्यमन्त्री राउतले आज जारी गरेको विज्ञप्तीमा ढुंगा, गिट्टी बालुवा निर्यात गर्ने, खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा भन्सार महसुल छुट दिने बजेट वक्तव्य प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रदेश २ को रक्षाकवचको रुपमा रहेको बलौटे माटोको चुरे पहडाबाट ढुंगा, गिट्टी उत्खनन भए तराई मधेस मरुभूमीकरण हुने भएकोले त्यसप्रति प्रदेश सरकार सजग रहेको विज्ञप्तीमा भनिएको छ ।

चुरेमा हुने ढुंगा, गिट्टी उत्खननले वन जंगलको विनास, वातावरणीय असन्तुलन, जैविक विविधता नष्ट, पानीको मुहान सुकेर समग्र तराई मधेस मरुभूमीकरण हुने भएकाले तत्काल बजेटबाट यो व्यवस्था हटाउन राउतले विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Back to top button