सञ्चार जगतमा कोरोना प्रभाव : १९ जना सञ्चारकर्मीको मृत्यु, सञ्चारगृहहरु रुग्न बन्दै

विराटनगर । कोरोना महामारीको चौतर्फी परिरहेको प्रभावबाट सञ्चार जगत पनि अछुतो रहेन । हालसम्ममा नेपालमा १९ जना सञ्चारकर्मीको मृत्यु भइसकेको छ भने यहाँका अधिकांश सञ्चारगृहहरु रुग्न बन्दै गएको छ ।

मुलुकभरिका हालसम्ममा ९ सय बढी सञ्चारकर्मीहरु कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ सय सक्रिय संक्रमित छन् । ५ जनाको अवस्था गम्भीर रहेकोले बिभिन्न अस्पतालमा आईसियूमा उपचाररत हुनुहुन्छ ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष एवं सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक तथा स्टेशन म्यानेजर चन्द्रप्रसाद न्यौपाने, अन्नपुर्ण पोष्ट दैनिकका दोलख संवाददाता रविन्द्र गौतम, नेपाल पत्रकार महासंघ पाचँथरका उपाध्यक्ष एकराज भण्डारी, धनुषाका पत्रकार माधव आर्चायको मृत्यु भएको छ ।

यस्तै, खोटाङका रेडियो नेपाल संवाददाता कृष्णप्रसाद ओझा, रेडियो लुम्बिनीमा कार्यरत रुपन्देहीका पत्रकार हिक्मत चौधरी, रेडियो हापुरेका सञ्चालक तथा स्टेशन म्यानेजर दाङका लक्ष्मण बस्नेत, जनता टाइम्स अनलाइनका सम्पादक तथा सौर्य दैनिकका सहसम्पादक शान्तिराम कार्की, गण्डकी टेलिभिजनका निर्देशक कास्कीका गणेश पौडेलको कोरोनाले मृत्यु भएको हो ।

यस्तै, रेड टेलिभजनकी अध्यक्ष रौतहटकी रमादेवी यादब, नागरिक दैनिकका मुगु संवाददाता सुमन मल्ल, मधेश एफएमका स्टेशन म्यानेजर एवं जनकपूर टुडेका रौतहट संवाददाता मनोज चौधरी, सि पोष्ट न्युज डट कमका सम्पादक–प्रकाशक दिनेश दाहालको कोरोनाको दोस्रो लहरमा मृत्यु भएको छ । पहिलो लहरमा पनि ६ जना सञ्चारकर्मीले ज्यान गुमाउनु भएको थियो ।

प्रदेश २ सरकारले रमादेवी र मनोजका परिवारलाई ५१ हजार रुपैयाँका दरले राहत प्रदान गरेको बाहेक अन्यले हालसम्म कुनै राहत पाएका छैनन् । सञ्चारकर्मीका परिवारलाई सञ्चारगृहका साथै सरकारले पनि अहिलेसम्म फर्केर हेरेका छैनन् ।

जिल्ला जिल्लामा राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु आफ्नै बलबुतामा हाल जनतालाई सूचना पुर्‍याउने धर्म निर्वाह गरिरहनु भएको छ । मुलुककै ठूला मियिा हाउसलगायत अधिकांश सञ्चार माध्यमले कोरोनाको दोस्रो लहर सुरु भएदेखि जिल्ला संवाददाताहरुलाई तलव खुवाएका छैनन् ।

जिल्ला जिल्लामा काम गर्दै आएका राष्ट्रिय सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई पत्रकारिता गरेर कसरी जीवन गुजारा गर्ने चिन्ताले सताइरहेको छ । यहीबीचमा दुई सयभन्दा बढी सञ्चारगृहहरु बन्द समेत भइसकेको पत्रकार महासंघले जनाएको छ ।

त्यसैले ज्यान जोखिममा राखेर रिपोर्टिङमा खटिरहेका सञ्चारकर्मीलाई नियमित तलव उपलब्ध गराउन राष्ट्रिय मिडिया हाउसहरुमा र समग्र सञ्चार जगतलाई राहत, क्षतिपुर्तिका लागि सरकारसँग पत्रकार महासंघले पहल गर्नु आवश्यक रहेको जिल्लाका सञ्चारकर्मीहरुको माग छ ।

Back to top button