चाईनिज ताईपेई विरुद्ध नेपालको शानदार जीत

विराटनगर। विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनौट प्रतियोगिताको दोस्रो चरणमा नेपालले गएराती सम्पन्न चाईनिज ताईपेई विरुद्धको खेलमा शानदार जीत निकालेको छ ।

समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा ताईपेईलाई नेपालले २ शुन्य गोल अन्तरमा पराजित गरेको हो । खेल अवधिभर निकै आक्रमक भएर खेलेको नेपालका लागि खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टीको अवसर सुखद रह्यो ।

पेनाल्टीमा अन्जन बिष्टको प्रहारले जाली चुम्दै नेपालले अग्रता लिएको थियो । चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपाललाई पेनाल्टीको अवसर प्राप्त भएको हो ।

दोस्रो हाफमा नेपालले एक गोल थप्यो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गरेको सानदार गोल नेपाली दर्शकका लागि सुखद रह्यो ।

समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेको थियो । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

Back to top button