सर्वत्र आलोचना पछि उपप्रधानमन्त्री महतोको प्रस्टोक्ति : बंग्याएर गलत प्रचार गरियो

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छ । उहाँले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार गरिएको दावी गर्नुभएको छ ।

गएराती विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्नुभएको छ ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

महतोले शुक्रबार पदभार ग्रहणका क्रममा पनि बहुलराज्यको पक्षमा बोल्नुभएको थियो ।

Back to top button