विश्वकप छनौट खेलमा ब्राजिलको अपराजित यात्रा, अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपाली समय अनुशार आज बिहान भएको खेलमा दक्षिण अमेरिकी जायन्ट ब्राजिलले लगातार छैटौं जित निकाल्दा अर्को दाबेदार अर्जेन्टिना भने कोलोम्बियासँग बराबरीमा रोकिएको छ।

निरन्तर जित निकाल्ने क्रममा ब्राजिलले बिहान पाराग्वेलाई २–० ले हराएको छ । पाराग्वेमा भएको खेलमा ब्राजिलले खेलको चौथो मिनेटमै नेयमारको गोलमार्फत अग्रता लिएको थियो।

यस्तै ब्राजिलका लागि इन्जुरी समयमा सबस्टिच्युट लुकास पाक्वेटाले नेयमारको पासलाई सदुपयोग गर्दा ब्राजिल २–० ले जीत निकाल्न सफल भयो । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो।

विश्वकप छनोट अन्तर्गतकै अर्को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली कोलोम्बियासँग २–२ गोलको बराबरीमा रोकिन पुग्यो। पहिलो हाफको १० मिनेटभित्रै अर्जेन्टिनाले दुई गोल गरेको थियो। तर, इन्जुरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरी खेल्न बाध्य भएको हो ।

खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले प्रहार गरेको गोलले जाली चुमेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो । आठौं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसले अर्को गोल थपेसँगै अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । दुई गोलले पछि परेको घरेलु टोली कोलोम्बियाले दोस्रो हाफमा पुनरागमन गर्‍यो।

५१ औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीमा लुइस मुरिएल गोल गर्नुभयो । इन्जुरी समयमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा आकर्षक हेड गर्दै कोलोम्बियालाई बराबरीमा पुर्‍याउनुभयो । बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक भएको छ।

Back to top button