प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला चाँडै गर्न तोकियो बहसको समय

काठमाडौैं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा असार दोस्रो साताभित्रै फैसला आउने देखिएको छ । सर्वोच्च अदालतले बहसका लागि एउटा पक्षलाई १५ घण्टाको समय तोकिदिएको छ ।

रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछ भने विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय निर्धारण गरिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय निर्धारण गरेको हो ।

इजलासले यो मुद्दामा ४ जना एमिकस क्युरी ‘अदालतको सहयोगी’ समेत माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको हो । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा बहस गर्न पाउनेछन् ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिएको छ । मुद्दालाई चाँडो किनारा लगाउन निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने भएको छ । निर्धारण गरिएका समयलाई आधारमान्दा असारको दोस्रो साता भित्र नै फैसला आउने सम्भावना देखिएको छ ।

Back to top button