लोहन्द्राले बगाएको नहरको साइफनको सफल परिक्षण, आजैदेखि किसानको खेतमा पानी

विराटनगर । चारवर्ष अघि लोहन्द्रा खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको सुनसरी मोरङ सिंचाई आयोजनाको मुल नहरको साइफनको आज सफल परिक्षण गरिएको छ । यो सँगै लोहन्द्रा खोला पूर्वका कृषकको खेतमा आजदेखि सप्तकोशीको पानी पुगेको छ ।

२०७४ साउन २७ गते आएको बाढीले लोहन्द्रा खोलाको पुल र नहरको साइफन भत्काएको थियो । मूल नहरको साइफन र पुल बगाउँदा मोरङको पूर्वी क्षेत्रका १३ हजार ५ सय हेक्टर जग्गा सिँचाई विहीन बन्न पुगेको थियो । कुल ६० क्युमेक्स पानी बग्ने क्षमताको मुख्य नहरको १ सय ५३ मिटर लामो साइफन र एक लेनको पुल लोहोन्द्रा खोलाको बाढीले बगाएको हो ।

सिँचाइ आयोजनाले ४५ करोड २५ लाख २६ हजारको लागतमा साइफन र दुई लेनको पुल निर्माणका लागि आशिष/स्वामीनारायण/आशिर्वाद जेभि धरानलाई ठेक्का दिएको छ । २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का कबोल गरी २०७६ फाल्गुन ३० गते सम्झौता गरेको निर्माण कम्पनीले साइफन निर्माण गरेपछि आयोजनाले नहरमा पानी छोडेर गरेको परीक्षण सफल भएको छ ।

सुनसरी–मोरङ सिँचाई आयोजनाका प्रमुख भिलानन्द यादवले निर्माण कम्पनीले साइफन निर्माण गरेपछि दुई दिनदेखि नहरमा पानी छोडेर गरेको परीक्षण सफल भएको बताउनुभयो । उहाँले ८ क्यूमेक्स पानी बग्ने क्षमता रहेको साइफनमा क्षमता अनुसारकै पानी प्रवाह भएकोले परीक्षण सफल भएको बताउनुभयो ।

साइफनको परीक्षण सफल भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, उपभोक्तालगायतका टोलीले आज नहरको अनुगमन गर्नुभएको छ । प्रजिअ निरौलाले आयोजनाका सम्पूर्ण कर्मचारीको टीम र निर्माण कम्पनीले साइफन निर्माण गरी सफल परीक्षण गरेर जनताको खेतमा पानी पु¥याउन सफल भएको भन्दै धन्यवाद दिनुभयो ।

पुल र साइफन निर्माणका लागि २०८० भदौ मसान्तसम्मको म्याद पाएका निर्माण कम्पनीले साइफनलाई प्राथमिकतामा राखेर निर्माण सुरु गरेको थियो । साइफन निर्माणमा अझै ग्यावियन, फलोर प्रोटेक्शन, रिटेनिङवाल निर्माण गर्न बाँकी रहेको छ । पुलको पनि माटोमुनिको काम सम्पन्न भइसकेकोले आउँदो वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको यादवले सुनाउनुभयो । चालु आर्थिक बर्षमा साइफन र पुल निर्माणका लागि सुरुमा ७ करोड बजेट आएको तर कामको प्रगति हेरेर मन्त्रालयले थप १० करोड बजेट पठाइदिएकाले सहज भएको उहाँले बताउनुभयो ।

२०७४ साउनमा आएको बाढीले कुल ५३ किलोमिटर लामो मूल नहरका विभिन्न स्थानमा क्यानेल र साइफन बगाउँदा करिब ८० करोडबराबरको क्षति आयोजनाले जनाएको छ । ति मध्ये १२ करोडको लागतमा केही स्थानमा आपत्कालीन मर्मत र पुनःनिर्माण गरेर लोहन्द्रा खोलासम्म भने आयोजनाले पानी सञ्चालन गर्दै आएको थियो । आयोजनाले नहरमा बर्षायाममा ६० क्युमेक्स र हिउँदमा ३० क्युमेक्स पानी छोड्दै आएको छ ।

भारत सरकारले २०२४ सालमा निर्माण गरेर २०३५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको आयोजनाका सबै संरचनाको आयु सकिसकेको छ । सरकारले हरेक वर्ष करोडौं बजेट खर्चेर मुलुककै ठूलो सिँचाई आयोजना टालटुल गरेर सञ्चालन गर्दै आएको छ ।

Back to top button