नीति तथा कार्यक्रम झूठका पुलिन्दाहरुको एकिकृत रुप: केदार कार्की

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले यथार्थपरक बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिनुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले हिजो प्रस्तुत नीति तथा कार्यक्रम झूठका पुलिन्दाहरुको एकिकृत रुप मात्र रहेको बताउनुभयो ।

२०७६/०७७ को नीति तथा कार्यक्रम अझै पूरा नभएको भन्दै कार्कीले त्यसैलाई आधार मानेर २०७८ को नीति तथा कार्यक्रम ल्याइएको टिप्पणी गर्नुभयो । राष्ट्रपति आमा सम्मान कार्यक्रम आएको तर प्रधानमन्त्री बा कार्यक्रम किन नल्याएको भन्दै आलोचना गर्नुभएका नेता कार्कीले कार्यान्वयन हुन सक्ने मात्र नीति तथा कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम लागु नभएपछि प्रदेश सरकार र सांसदहरुलाई जनताले गाली गरिरेहको भन्दै भन्नुभयो, ‘पूरा हुन नसक्ने, हावादारी, संघीयता खारेज गर्नका लागि यस्ता नीति तथा कार्यक्रम जनताको प्रतिनिधिलाई गाली खुवाउन मात्र कहिलेसम्म ल्याउने ?’

यो नीति तथा कार्यक्रम पूरा गर्न खर्बौको बजेट आवश्यक रहेको भन्दै उहाँले अघिल्लो वर्षको प्रत्येक अस्पताललाई सय बेडमा रुपान्तरण गर्ने कार्यक्रम अझै कार्यान्वयन नभएकाले यथार्थपरक नीति तथा कार्यक्रम र बजेट ल्याउन मेरो सुझाव छ भन्नुभयो ।

Back to top button