बीएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति जनाएको हो ।

बैठकको निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सबै प्रक्रिया पूरा गरेर सम्बन्धनको पर्खाइमा रहेको कलेजलाई चिकित्सा शिक्षा अध्यापनको बाटो खुलाएको हो ।

काठमाडौं विश्वविद्यालयबाट बी एण्ड सीलाई सम्बन्धन दिइएको हो । आयोगको अध्यक्ष प्रधानमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुनुहुन्छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ ।

आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसायपत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको थियो ।

Back to top button