
काठमाडौं । पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको एक पदाधिकारीले बताउनुभयो ।
भदौसम्ममा महाधिवेशन नभए पार्टीको औचित्य नै संकटमा पर्ने भएकाले युवा नेताहरुको दवावपछि सभापति देउवाले बैठक बोलाएको हो । कोरोना महामारीबीच कुन मोडेलमा पार्टी महाधिवेशन गर्ने विषयमा छलफलका लागि बैठक बोलाइएको एक पदाधिकारीले बताउनुभयो ।
कोरोना महामारीमा पार्टीको महाधिवेशन होइन निर्वाचन मात्रै गर्न डा. शेखर कोइरालालगायतका नेताहरुले सुझाव दिनुभएको छ । असारबाट पार्टीको वडा तहको अधिवेशन सुरु गर्नुपर्ने निर्वाचन कार्यतालिका रहे पनि हालसम्म क्रियाशील सदस्यता विवाद टुंगिन सकेको छैन ।
क्रियाशील सदस्यताको डाटा इन्ट्रीपछि उजुरी लिएर छानबिन गर्न महिना दिन समय लाग्छ । छानबिनका लागि रमेश लेखकको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।