नीति तथा कार्यक्रम पास गर्न बागमतीमा एमाले एकढिक्का, पक्षमा मतदान गर्न संसदीय दलको निर्देशन

काठमाडौं । नीति तथा कार्यक्रम पास गर्न बागमती प्रदेशमा नेकपा एमाले एकढिक्का भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिनुभएको छ ।

संसदीय दलको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिनुभएको थियो ।

एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाका अनुशार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले पनि दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी मतदान गर्न दलका सदस्यलाई अनुरोध गर्नुभएको छ ।

बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशसभामा उठेका प्रश्नहरुको विषयमा प्रष्ट्याउँदै समसामयिक राजनीतिक अवस्थाका बिषयमा पनि भनाई राख्नुभएको थियो ।

Back to top button