बागमती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि संसोधन प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल–झलनाथ खनाल पक्ष एकठाउँमा उभिएपछि नीति तथा कार्यक्रम सहजै बहुमतले पारित भएको हो ।

बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्नुभएको थियो । हिजो पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

Back to top button