प्रदेश १ मा ६२ देखि ६४ उमेर समूहलाई भेरोसेल खोप धमाधम लगाउँदै

विराटनगर । प्रदेश १ को १४ वटै जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका वृद्धवृद्धाहरुलाई चीनले अनुदान सहयोगमा उपलब्ध गराएको भेरोसेल खोप लगाइरहेको छ ।

प्रदेशभरि नै तोकिएका उमेर समूहका सर्वसाधारण खोप लगाउन उत्साहित छन् । कही कही निषेधाज्ञा, भिडभाडमा जाँदा संक्रमण हुने डरले खोप लगाउनेको संख्या कम देखिएकोले खोप लगाउने समय बढाएर भएपनि सबैलाई लगाउने प्रदेश सरकारको तयारी छ ।

शुक्रबारसम्ममा यस प्रदेशमा २६ हजारलाई खोप लगाइसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

‘पहिलो डोज खोप लगाउन १४ वटै जिल्लामा ७० हजार डोज खोप पठाएका छौं,’ उहाँले भन्नुभयो, ‘सरकारले २५ गतेदेखि खोप लगाउने कार्यक्रम निर्धारण गरे पनि जिल्ला खो समन्वय समितिहरुले आ–आफ्नो सुविधा अनुसार खोप लगाउन सुरु गरिसकेका छन् ।’ शुक्रबारसम्ममा यस प्रदेशका १४ वटै जिल्लामा खोप लगाउन सुरु भइसकेको बस्नेतले बताउनुभयो ।

सुरुमा ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउने प्रचार गरिए पनि पछि सरकारले खोप नपुग्ने देखेर ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउनन भनेकोले त्यही अनुसार खोप लगाइरहेको उहाँले बताउनुभयो ।

पहिलो डोज खोप लगाइसकेपछि दोस्रो डोजका लागि खोप पठाउने तयारी रहेको बस्नेतको भनाई छ । उहाँले तोकिएको मापदण्ड विपरित खोप नलगाउन निर्देशन दिएको र त्यसको अनुगमन समेत भइरहेको बताउनुभयो ।

यस प्रदेशमा यसअघि पनि ६० वर्ष माथि उमेरका सर्वसाधारणहरुले खोप लगाएकाले कुनै कुनै ठाउँमा खोप लगाउनेको संख्या कम देखिएको बस्नेतले बताउनुभयो । उहाँले ६० देखि ६४ वर्ष उमेर समूहको जनसंख्या प्रदेशभरि १ लााख ४० हजार रहेको बताउनुभयो । यस प्रदेशमा सरकारले १ लाख ४० हजार डोज खोप पठाएको छ ।

Back to top button