प्रदेश १ सरकारलाई ६२ लाखभन्दा बढीको स्वास्थ्यसामाग्री हस्तान्तरण

विराटनगर । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट प्रदेश १ सरकारलाई ६२ लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री आज सामाजिक विकास मन्त्री उषाकला राईलाई हस्तान्तरण गरिएको हो ।

युएनडिपीका तर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सन्ट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सवै पक्षको सहयोगमा मात्रै कोरोना संक्रमण नियन्त्रण गर्न सकिने भन्दै सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह गर्नुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।

Back to top button