प्रदेश १ : संस्कृति, पर्यटनतथा जैविक विविधताका क्षेत्रमा ८३ करोड ३८ लाख विनियोजन

विराटनगर । प्रदेश १ सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को बजेटमा संस्कृति, पर्यटन तथा जैविक विविधताका क्षेत्रमा ८३ करोड ३८ लाख बिनियोजन गरेको छ ।

बजेट मन्तब्यमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रस्तुत गरेको संस्कृति, पर्यटनतथा जैविक विविधताका क्षेत्रमा गरेको सम्बोधन जस्ताको त्यस्तै :

विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्जनजङ्गालगायतका अग्ला शिखरहरूको साहसिक आरोहणका लागि प्रचुर सम्भावना बोकेको यस प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्रलाई बनाउन सरकार प्रतिवद्ध रहेको छ। विगत देखि नै पर्यटकीय प्रसिद्धि प्राप्त गरेका खुम्बु क्षेत्रका साथै अन्य नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकास गर्दै लगिनेछ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेंसी, ताप्लेजुङ्गको पाथिभरा देवि मन्दिर, सुनसरीको बराहक्षेत्र, मोरङ्गको संसारीमाई क्षेत्र, इलामको लारुम्बा जस्ता धार्मिक सांस्कृतिक महत्व बोकेका क्षेत्रहरुको विकास गरिनेछ। प्राकृतिक तथा मनोरम दृष्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, कन्याम, सन्दकपुर, पत्ताले, टेम्के(मैयूं, अरुण उपत्यका, भेडेटार, तिनजुरे -मिल्के-जलजले क्षेत्र, रौतापोखरी, ह्यातुङ्ग, जोर पोखरी, फङ्गफङ्गे तथा नमस्ते झरनालगायत अन्य सम्भाव्य पर्यटकीय गन्तव्यहरुको समेत पहिचान गरी प्रदेशको पर्यटन ब्राण्ड स्थापित हुने गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाएको छु।

प्रदेश पर्यटन नीति तर्जुमा गरिनेछ । पर्यटकीय संस्था र संगठनहरुको विकास गर्ने, निजी क्षेत्रकोसमेत सहभागितामा गन्तव्यहरुको प्रवर्द्धन गर्ने र सेवाप्रदायकहरुको लगानीलाई सुरक्षित गर्दै जोखिम न्यूनीकरणकालागि साझेदारी संयन्त्रको निर्माण गर्न प्रोत्साहित गर्ने व्यवस्था मिलाएको छु।

प्रदेश भित्रका सोह्र पर्यटकीय गन्तव्य, हरेक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा आकर्षण र हरेक भौगोलिक क्षेत्रमा कम्तिमा एकरएक सांस्कृतिक र ऐतिहासिक पहिचान गर्ने कार्यक्रमलाई बजेटमा समेटेको छु ।

कोरिडोरमा आधारित पर्यटन विकास गर्ने लक्ष्यकासाथ सबै निर्वाचन क्षेत्र जोडिने गरी पर्यटकीय कोरिडर स्थापना गर्न स्रोत व्यवस्था गरेको छु । प्रदेशमा पहिचान भएका महत्वपूर्ण पदमार्गहरुको क्रमशः विकास गर्दै लैजान यसै बर्षबाट चार बर्षीय पदमार्ग विकास आयोजना शुरुवात गर्ने र मुन्धुम पदमार्गको पूर्वाधारतर्फको काम यसै बर्ष सम्पन्न गर्ने गरी रू। ३ करोड ५० लाख विनियोजन गरेको छु।

प्रदेशभित्रको हिमाली दृष्यावलोकन सर्किट, ईको(ट्रेल तथा कोशी र कोशीका सहायक नदीमा जलयात्राको पूर्वाधार विकास र प्रवर्द्धनका लागि आवश्यक वजेट व्यवस्था गरेको छु । विराटदरवार-बर्जुताल-कौवाखोच-रामधुनी-चतराधाम-बराहक्षेत्र-पिण्डेश्वर हुंदै इटहरीको तालतलैयासम्मको पर्यटकीय सर्किटलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।

झापा तथा मोरङ्ग स्थित साविकको शरणार्थी क्याम्प रहेको स्थानमा सबै जातजाति, भाषा, धर्म, लिपी र समुदायको परम्परा झल्कने बहुजातीय पहिचान र संस्कृतिमा आधारित संग्राहलय स्थापना गर्ने कार्य अगाडि बढाईने छ । लिम्बु सँस्कृतिको प्रवर्द्धन गर्न वसन्तपुरमा रहेको चोलुङ्ग पार्कको विकास गर्न सहयोग गरिनेछ । ईम्बिरी मुन्धुमको अध्ययन, संरक्षणर प्रचार प्रसार गरिनेछ ।

पर्यटकीय संभावना बोकेका कृषि पर्यटन, जलपर्यटन, साहसिक पर्यटन, आध्यात्मिक र शारीरिक व्यायामसँग जोडिएका विभिन्न स(साना पर्यटकीय संरचना र सेवा सुविधामा स्थानीय तह तथा निजी क्षेत्रसँगको सहकार्यमा लगानी गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

धरान र काँकडभिट्टामा रहेका पर्यटन कार्यालयहरुलाई पर्यटकीय सेवा, सूचना र प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र प्रदेशभित्रका पर्यटकीय सेवाप्रदायकहरुको प्रशासनिक र व्यवस्थापकीय निकायकारुपमा स्थापित गर्दै लैजान आवश्यक व्यवस्था मिलाएको छु ।

विभिन्न भाषाभाषी, सँस्कृति जातजाती धर्मावलम्बीहरुको संस्कार, सँस्कृतितथा लोप हुदै गएका परम्परागत नृत्यहरुको संरक्षण गर्दै व्यावसायिक रुपमा प्रवर्द्धन गरिनेछ । किराँती सँस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्गको संरक्षण तथा अरुण तमोर सभ्यताको अध्ययन तथा प्रवर्द्धन गरी ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।

नेपालको सबैभन्दा होचो स्थान कचनकवल देखि सबैभन्दा अग्लो स्थान सगरमाथा सम्म द्रुत पहुँचका लागि एकीकृत पर्यटकीय विकास योजना सञ्चालन गरी निजी तथा वैदेशिक लगानी आकर्षण गरिनेछ । हिमाली जिल्लाहरू ताप्लेजुङ्ग, संखुवासभा र सोलुखुम्वु जोड्न उच्च हिमाली मार्ग निर्माणको लागिविस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।

प्रदेश भित्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारका कर्मचारीहरुलाई आर्थिक सुविधा सहित दश दिनको पर्यटन काज दिने व्यवस्था मिलाएको छु ।

नेपाल सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको साझा योजनाकोरूपमा रहेको विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्यलाई समन्वयात्मक रूपमा अघि बढाउन आवश्यक स्रोतको व्यवस्था गरेको छु। समग्र पर्यटन क्षेत्रको विकासका लागि रू. ८३ करोड ३८ लाख विनियोजन गरेको छु ।

Back to top button