तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न विपद व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्देशन

काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

समितिको गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको हो ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

Back to top button