थुनिएको मर्स्याङ्दी नदीको पानी खुल्यो, जोखिम कम हुने विश्वास

काठमाण्डौ । वर्षासँगै आएको बाढी र पहिरोका कारण मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । बाढी आएको मर्स्याङ्दी नदीमा पहिरो झरेर थुनिँदा चामे बजार नै जोखिममा परेको छ । जोखिमयुक्त क्षेत्रका स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

बाढीका कारण मनाङको चामे गाउँपालिका ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीको पुल समेत जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभएको छ ।

मर्स्याङ्दीमा पानीको बहाव झन् बढ्दै जाँदा नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ । बाढीले आसपासका खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ ।

यद्यपी केहिबेर अघि थुनिएको मर्स्याङ्दी नदी भने खुलेको छ । नदि खुलेसँगै जोखिम कम हुने स्थानीय अधिकारीहरुको विश्वास छ । बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Back to top button