पोर्चुगलमाथि जर्मनी हाबी, दुई आत्मघाती गोलसहित ४ गोलले जर्मनीको जीत

काठमाडौं । युरोकप फुटबलमा जर्मनीले साविक विजेता पोर्चुगललाई २ का विरुद्ध दुई आत्मघाती गोलसहित ४ गोल अन्तरले पराजित गरेको छ ।

म्युनिखमा गएराती सम्पन्न खेलमा पोर्चुगलले गोलको अग्रता लिएपनि उसकै आत्मघाती दुई गोलले जर्मनीको जीतलाई सहज बनाएको थियो । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक/एक गोल गरे। जर्मनीका लागि पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे।

यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक/एक गोल फर्काए। रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए। तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन। खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल थियो भने १ सय ७ औं अन्तराष्ट्रिय गोल पनि हो। खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरे । ३९ औं मिनेटमा राफायलले अर्को आत्मघाती गोल थपे । दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो।

खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए। ६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपछि खेल ४–२ को अन्तरमा पुग्यो । अन्ततः जर्मनीले पोर्चुगलका विरुद्ध शानदार जीत निकाल्यो ।

समूह‘एफ’ मा रहेको जर्मनीको यो पहिलो जित हो। जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो। पोर्चुगलको भने यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। पोर्चुगलले २ खेलमा ३ अंक छ।

Back to top button