आज योग दिवस मनाइँदै

विराटनगर । योग दिवस आज संसारभरि मनाइरहेको छ । पूर्वी सभ्यतामा शान्तिपूर्ण, निरोगी र सन्तुष्ट जीवनयापन गर्दै मोक्ष प्राप्तीका लागि योग अपरिहार्य छ । योग गरेकै कारण पूर्वी दर्शनका महान ऋषि, महात्माहरुले वर्षौं वर्ष बाँच्न सफल भएको धर्मग्रन्थहरु साक्षी छ ।

निरोगी जीवनयापनका लागि योग महत्वपूर्ण छ । अहिले मानिसहरुको व्यस्तता बढेको छ । जीवनमा खानपिनमा अनुशासन छैन र योग पनि विर्सिदै गएको अवस्थामा एक पटक पुनः योगको महत्व संसारभरि स्थापित हुँदै गएको छ ।

अहिलेको कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा पनि योग लाभदायक सिद्ध भएको छ । योगमा गरिने प्रणायामले फोक्सो मजबुत बनाउने भएकोले कारोनासँग लड्ने क्षमता शरीरमा विकास हुन्छ ।

योगमा आसन, प्रणायाम, ध्यान जस्ता विधिहरु हुन्छन् । विभिन्न विद्वानहरुले योगको आ–आफ्ना अनुकुल परिभाषित गरेका छन् । तर पतञ्जलीका अनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । योगले शरीरभित्र रहेको रोगलाई निरोध गर्नुका साथै अस्थिर मनलाई स्थिर गर्न, अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रा नै योग हो ।

अहिलेको भौतिकवादी संसारमा मानिस ब्रह्माण्ड घुम्ने प्रयास गरिरहेका छन् तर ऋषि, महर्षिहरुले शरीरलाई नै ब्रह्माण्डको रुपमा अर्थयाउनु भएको छ । त्यसैका आधारमा अलौकिक सिद्धान्तहरु प्रतिपादन गरेर जानुभएको छ ।

त्यसैले योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरुको पालना गर्दै अभ्यास गर्नु अपरिहार्य हुन्छ । जसले मन, श्वास र शरीरको एकआपसमा अन्तरघुलन हुन्छ । चार प्रकारका योग राज योग, कर्म योग, भक्ति योग र ज्ञान योगको आ–आफ्नै महत्व छ । यसको आठ अंग पनि हुन्छ । जसलाई अष्टांग योग भन्छन् । पतन्जलीका अनुसार योगको आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्छ ।

यमको अर्थ अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह अर्थात जसको अनुष्ठानबाट मन वा इन्द्रियको अशुभता हटाएर शुभमा संलग्न हुन्छ । नियमको अर्थ अनुशासित जीवनयापन अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्रणिधान हुनु हो।

आसनको अर्थ स्थिर तथा सुखपूर्वक बस्ने क्रिया हो । प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्दै नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।

पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो । धारणाको अर्थ मनलाई एकाग्रचित्त गरेर कुनै विषयमा ध्यान केन्द्रित गर्नु हो । ध्यानको अर्थ विचार सून्य अवस्थामा बस्नु हो । समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो । त्यसैले यो सांसारिक मोह, माया, लोभ, पाप, काम, क्रोधबाट मुक्त भई जीवनको परम लक्ष्य मोक्ष प्राप्तीका लागि मानव जीवनमा योग आवश्यक छ । त्यसैले योग गरौं, निरोग रहौं ।

Back to top button