प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्छ : विष्णु तुम्बाहाङ्फे

विराटनगर । प्रदेश १ सभाको आज बसेको वैठकको विशेष समयमा बोल्दै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाङ्फेले प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

उहाँले प्रदेश १ अन्य प्रदेशभन्दा भिन्न रहेकोले पहिचानको आधारमा नामकरण हुनुपर्नेमा जोड दिनुभयो । बहुपहिचान भएको प्रदेशमा पहिचानको आधारमा नामकरणको मुद्दा उठाइरहदा साम्प्रदायिकता र जातिवादको नारा उठाइरहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो ।

उहाँले कोभिड– १९ को महामारी फैलिरहेको समयमा प्रदेशको नामकरण गर्नु उपयुक्त नहुने तर्क गर्नुभयो । प्रधानमन्त्रीले देशलाई मध्यावधि निर्वाचनमा लगिसकेको अवस्थामा प्रदेश १ मा नामाकरण गर्नु कतिको उपयुक्त हुन्छ भन्दै उहाँले प्रदेश १ को नामकरणमा लिम्बूवान नजोडिने हो भने स्थायी शान्ति नहुने बताउनुभयो ।

उहाँले अरुण पूर्वलाई लिम्बूवान र अरुण पश्चिमको क्षेत्रलाई खुम्बुवान भएको सरकारी कागजातहरू समेत रहेको अवस्थामा पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।

Back to top button