विपक्षी गठबन्धनको बक्तव्य : मुलुक गम्भिर संकटतर्फ धकेलिएको छ

काठमाडौं । विपक्षी गठबन्धनका दलहरुले मुलुक गम्भिर संकटतर्फ धकेलिएको बताएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले निर्वाचन आयोगको कार्यसम्पादनप्रति पनि प्रश्न उठाएका छन् ।

लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता विपरीत वर्तमान सरकार चलेको आरोप लगाउँदै गठबन्धनले सरकारले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेको उल्लेख छ ।

बक्तव्यमा भनिएको छ,‘नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भिर संकटतर्फ धकेलिएको छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास गरिएको भन्दै आपत्ति जनाइएको छ ।

Back to top button