प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजदेखि सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी गठनबन्धनले विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको मुद्दामा निरन्तर सुनुवाइ हुने भएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् । मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।

ठूलो दलको संसदीय दलको नेताको हैसियतमा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । नियुक्तिको एक सातामै उहाँले आफूसँग बहमुत नरहेको स्पष्ट रहेकाले विश्वासको मत नलिने भनेर उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिस बमोजिम राष्ट्रपतिले बहुमत जुटाई सरकार बनाउन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षका गरी १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेश गर्नुभएको थियो ।

तर त्यो भन्दा अघि नै प्रधानमन्त्री ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपति कार्यलयमा पेस गर्नुभएको थियो । राष्ट्रपतिले दुवै पक्षको दाबी नपुगेको भन्दै पत्र फिर्ता गरेपछि सरकारको सिफारिसमा गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गर्नुभएको छ।

Back to top button